पाँचतारे होटलजस्तै बन्दै बुढानिलकण्ठ भ्यू टावर (भिडिओसहित)

नेपालका धेरै ठाउँमा भ्यू टावर निर्माण गरिएका छन् । तर, पाँचतारे होटेलकै जस्तो सेवा सुविधा दिनेगरी पर्यटकीय स्थलको रुपमा भ्यू टावर बनाएको शायदै सुन्न पाइन्छ । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा २६ वटा आवासीय घरहरुसहित बुढानिलकण्ठ भ्यू टावर निर्माण हुने भएको छ । यसै विषयमा बुढानिलकण्ठ भ्यू टावर प्रालिका अध्यक्ष डा. राजेन्द्र केसीसँग हामीले कुराकानी गरेका छौं :

काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने गरी बुढानिलकण्ठ भ्यू टावर बनाउने परियोजना अहिले कुन चरणमा छ ?
बुढानिलकण्ठ मन्दिरबाट १.६ किलोमिटर टाढा शिवपुरीमा ११ रोपनी ३ आना जग्गा यही परियोजनाको नाममा लिएर हामीले काम अघि बढाएका छौं । हालसम्म आर्किटेक्ट इन्जिनियरिङ, डिजाइन, परियोजनाको थ्रिडी एनिमेसन निर्माण भइसकेको छ ।

परियोजना कुल ७३ करोड लगानीको हो । यसमध्ये ५० प्रतिशत लगानी सुनिश्चित भइसकेको छ । प्रभु विकास बैंकले यो परियोजनामा ऋण लगानी गरेको छ । ऋण निकासा पनि भइसकेको छ । बाँकी ५० प्रतिशत प्रवर्द्धकको स्वपूँजी रहनेछ । अब निर्माणको चरणमा प्रवेश गर्दैछौं ।

यो भ्यू टावरसँगै यो क्षेत्रलाई पर्यटककीय गन्तव्य पनि बनाउने भन्नुभएको छ के कस्ता सेवा सुविधा हुन्छन् त ?

यो परियोजनाअन्तर्गत एउटा भ्यू टावर र २३ ओटा डेढ तल्ले भिल्ला बनाइनेछ । हरेक भिल्लाको पहिलो तल्लामा अट्याच्ड बाथरुमसहितको एउटा बेड रुम, एउटा किचेन, एउटा लिभिङ रुम हुनेछन् । माथिल्लो तल्लामा अट्याच्ड बाथरुम भएका दुई ओटा कोठा हुन्छन् । यो असाध्यै लग्जरियस हुन्छ । विदेशमा चलनचल्तिमा रहेको फार्म हाउस तथा होलिडे होमकै अवधारणामा यी भिल्लाको विकास गरिनेछ । पाँचतारे होटलकै सुविधा दिनेगरी नेपाली शैलीमा निर्माण गरिनेछ ।

बुढानिलकण्ठ भ्यू टावरमा ५ तला रहनेछन् । पहिलो तल्लामा रेष्टुरेन्ट हुन्छ । दोस्रो तल्लामा मिटिङ, सेमिनार, वर्कसप गर्ने सुविधा रहन्छ । त्यस्तै, तेस्रो तलामा साना साना कोजी मिटिङ रुमहरु रहन्छन् । चौथो र पाचौँ तलामा मेडिटेसन, सौना बाथ, ज्याकुजीलगायत रहन्छन् ।

भ्यू टावर खासगरी कस्ता पर्यटकप्रति लक्षित हुन्छ ?

यो भ्यू टावरले खासगरी आन्तरिक पर्यटकलाई लक्षित गरेको छ । मानिस दैनिक भागदौडबाट फुर्सद निकालेर घरबाहिर शान्त सुन्दर ठाउँमा बिदा मनाउन जान चाहन्छन् । फुर्सद वा बिदाको समय यस्ता ठाउँमा बिताउन चाहन्छन् कि जहाँ वन जंगल, खोलानाला, पहाड भएको शान्त सुन्दर ठाउँ होस् । यो ठाउँ पनि त्यस्तै छ । पूर्व, उत्तर र पश्चिममा शिवपूरी निकुञ्ज छ ।

जंगलबाट धेरै नजिक छ । भ्यू टावर नजिकै २ सय रोपनी सामुदायिक वन छ । त्यहाँ पिकनिक स्पट बनाउन सरकारले डीपीआर तयार गरिसकेको छ । पिकनिकका लागि आउने आन्तरिक पर्यटक पनि यो भ्यू टावर परियोजनाका लक्षित ग्राहक हुन सक्छन् । विदेशी ग्राहक पनि यस टावरमा आउन सक्छन् । काठमाडौंको नजिकै बन्न लागेको यो परियोजना नेपालमै नौलो पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेछ ।

नेपालमा यस्तै अवधारणमा अहिलेसम्म अर्को कुनै पर्यटकीय गन्तव्य बनेको छैन । विद्यालय, कलेज, एनजीओ, आइएनजीओ, कर्पोरेट हाउसहरु, सरकारी कर्मचारी, पेशा व्यवसायीलगायतले यो गन्तव्यको सेवा लिन सक्नुहुनेछ । यसबाहेक हरेक शुक्रबार, शनिबार र आइतबार हामीले भ्यु टावर बनाउने क्षेत्रमा हजारौं जना वाकिङ, ट्रेकिङ र हाइकिङमा गइरहेको देखेका छौं । यस्ता अन्तरिक पर्यटकका लागि पनि हाम्रो परियोजना गतिलो गन्तव्य हुन सक्छ ।

भ्यू टावरमा चढेको मात्र पनि शुल्क लिने हो कि निशुल्क हुन्छ ?

यो भ्यू टावर ५ तले हुने भएकाले धेरै अग्लो हुँदैन । करिब ६० फिट जतिको यो टावर हुन्छ । यो परियोजनाअन्तर्गत ७१ ओटा कोठा निर्माण हुनेछन् । तर, जहाँ भ्यू टावर बन्दैछ‚ त्यो ठाउँ नै अग्लो ठाउँमा छ । त्यसो हुँदा धेरै अग्लो टावर नबनाए पनि यहाँबाट काठमाडौं उपत्यका पुरै नियाल्न सकिन्छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा दक्षिणी भाग ललितपुरका पनि लगभग सबै ठाउँबाट यो टावर देख्न सकिन्छ । यो ठाउँमा बिदा मनाउन आउने, बैठक तथा सेमिनारका लागि आउनेबाट खाना, आवास, ध्यान, सौनाबाथलगायत सेवाको शुल्क लिने हो । दृष्य अवलोकन गरेको मात्रै शुल्क लिइँदैन । पर्यटकका लागि यो थप लाभको सुविधा हुनेछ ।

प्रतिक्रिया