प्रधानमन्त्रीले नै स्वास्थ्य मापदण्ड लत्याएपछि‍…

काठमाडौं । सरकार आफैंले बनाएको स्वास्थ्य मापदण्ड २४ घण्टा नबित्दै लत्याउँछ भने आम नागरिकमाथि कडाइ गर्नु कत्तिको सान्दर्भिक हो ? यसको जवाफ शायदै कसैले देला । जवाफ दिनुपर्ने सरकारले नै उल्लंघन गरिरहेको छ ।

सोमबार कोभिड–१९ को दोस्रो लहर रोक्न स्वास्थ्य मापदण्ड जारी गरेको सरकारले आफैं मापदण्ड उल्लंघन गरिरहेको छ । अझै दुःखद कुरा त त्यसमा प्रधानमन्त्री स्वयम् संलग्न छन् ।

सोमबारमात्रै सरकारले २५ जनाभन्दा बढीलाई भेला हुन प्रतिबन्ध गर्‍यो । भोज, उत्सव, भेला, सभा सम्मेलन गर्न पनि मापदण्ड बनायो ।

तर त्यसको २४ घण्टा नबित्दै मंगलबार बिहान प्रधानमन्त्रीको उपस्थितिमा बालुवाटारमै ‘श्री सीताराम शोभा रथयात्रा’ सुरु गरियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै योजना र आह्वानअनुसार पत्नी राधिका शाक्यसहित बालुवाटारमा विशेष पूजा गरिएको थियो । त्यहाँ प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्च अधिकारी पनि सहभागी रहे । चितवनको अयोध्या लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरेपछि रथयात्रा सुरु भयो ।

कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी रहेको देख्न सकिन्छ । बालुवाटारमा रथयात्रालाई बिदाइ गर्दा नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायत दर्जनौँ व्यक्ति र रथयात्रा गर्ने व्यक्ति उपस्थित थिए । जसले सरकार आफैँले जारी गरेको स्वास्थ्य मापदण्डलाई मात्रै गिज्याउँदैन, २५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारी नियमलाई पनि कुल्चिन्छ ।

कोभिड–१९ ले फेरि विश्वलाई आतंकित बनाइरहेको बेला नेपालमा पनि कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।

यही संक्रमणदर रोक्न र जोखिम कम गर्न सरकारले मापदण्ड बनाएको हो । तर पालना गर्न अह्राउने सरकार आफैँले लत्याउनुले ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखान चरितार्थ गरेको छ ।

अनि फेरि प्रश्न उठ्छ सरकार स्वयंले नमान्ने नियम मान्न नागरिक बाध्य हुन्छन् ? तर जवाफ दिने सरकार स्वयम् जवाफदेहिताको न्यूनतम शर्त पालना गर्दैन र केही बोल्दैन ।

प्रतिक्रिया