डराएर संसद् अधिवेशन अन्त्य गरेको होइन : सरकार (भिडिओसहित)

काठमाडौं । सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले डराएर संसद्को हिउँदे अधिवेशन अन्त्य नगरेको प्रष्ट पारेका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेपछि पत्रकारहरुसँगको सवालजवाफका क्रममा सञ्चारमन्त्रीसमेत रहेका गुरुङले यस्तो बताएका हुन् । ‘म यही सम्मेलनमार्फत प्रष्ट पार्न चाहन्छु,’ गुरुङले भने, ‘सरकारले डराएर संसद् अधिवेशन अन्त्य गरेको होइन । अविश्वासको प्रस्ताव आउँछ कि भनेर अन्त्य गरेको पनि होइन ।’

कसैको अतृप्त पदको चाहनाका कारण मुलुकमा राजनीतिक संकट निम्तिएको बताएका गुरुङले सरकार परिवर्तनको खेलमा लागेकाहरु पनि सेलाएको बताए । ‘परिवर्तित सरकार चाहनेहरु पनि चुप छन्,’ गुरुङले भने, ‘खै किन हो ? अहिले सेलाएजस्तो देखिएका छन् । संसद्लाई बिजनेश भएन । त्यसमा ठूलै काम पनि भएन । त्यसैले पनि यसको अधिवेशन अन्त्य गरिएको हो ।’

यस्तै प्रवक्ता गुरुङले कोरोनाका कारण पनि संसद् अधिवेशनको अन्त्य गर्नुपरेको बताएका छन् । ‘हामीले २५ जनाभन्दा बढी एकै ठाउँमा हुन नपाउने भन्यौँ,’ गुरुङले भने, ‘हामी चाहिँ लाइन लागेर संसद् भवन छिरेर काम भएन ।’

संसद् अधिवेशन अन्त्यको निर्णय आजै बसेको मन्त्रिपरिषद्ले गरेको थियो । त्यसलगत्तै मन्त्रिपरिषद्ले गरेको अन्त्यको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी सदर गरेकी छन् ।

प्रतिक्रिया