प्रधानमन्त्रीलाई भेटेर विप्लवले सोधे– साथीहरु कहिले छुट्छन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दबीच भेटघाट भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले मकालु खबरलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र विप्लवबीच आइतवार बालुवाटारमा भेटघाट भएको हो । ‘उहाँहरुबीच आज भेट भएको हो,’ सचेतक भट्टराईले भने, ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।’
स्रोतकाअनुसार भेटमा विप्लवले प्रधानमन्त्री ओलीले आफ्ना सहयोद्धा कहिले छुट्छन् भनी सोधेका थिए । ‘उहाँहरुबीच दुई पक्ष (सरकार र विप्लव) बीच भएको समझदारीको बारेमा छलफल भएको छ,’ स्रोतले मकालु खबरलाई भन्यो– ‘विप्लवले गुनासो गर्नुभएको थियो ।’
विप्लवको जवाफमा प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया पूरा भएलगत्तै बन्दी नेताहरु छुट्ने बताएका थिए । स्रोतले भनेको छ– ‘प्रधानमन्त्रीले कानूनी प्रक्रिया पहिले पूरा गर्ने र बन्दी नेताहरु रिहाइको व्यवस्था गरिने भनेर भन्नुभएको छ ।’ भेटमा समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत सहभागी थिए ।
यसअघि गत चैत ९ गते पनि विप्लवले प्रधानमन्त्री ओलीले भेटेका थिए । उक्त भेटमा पनि विप्लवले सोही प्रकृतिको जिज्ञासा राखेका थिए ।
हाल समूहका करिब १२३ नेताकार्यकर्ता कारागारमै छन् । मुलुकमा विध्वंसात्मक गतिविधिलाई बढवा दिएपछि ०७५ फागुन २८ गते प्रतिबन्ध लगाइएको विप्लव समूह र सरकारबीच गत फागुन २० गते ३ बुँदे सहमति भएको थियो । सहमतिपत्रमा प्रतिबन्ध हटाउने, कारागारमा रहेका बन्दी नेताहरु रिहा हुने, मुद्दा खारेज गर्नेलगायतका बुँदाहरु छन् ।








