चलचित्रकर्मीद्वारा ‘इएनटी सेन्टर’ स्थापना

काठमाडौँ । चलचित्र निर्माता, निर्देशक, छायाकार तथा लेखक किशोर ढकाल तथा निर्माता प्रदर्शक छिरिङ दोर्जे लामाले नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा ल्याएका छन् ।

यी दुईले नाक, कान, घाँटी रोगका विशेषज्ञहरूको समूहसँग मिलेर जमलस्थित विश्व ज्योति मलको तेस्रो तल्लामा उपचार केन्द्र स्थापना गरेका हुन् । नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको उक्त केन्द्रले ३ दिने निःशुल्क नाक, कान, घाँटी स्वास्थ्य परामर्श शिविरसमेत आयोजना गरेको छ । फिल्मकर्मी ढकालका अनुसार उक्त शिविर शुक्रवारसम्म चलेको थियो ।

उपचार केन्द्र ढकाल तथा लामाका साथमा डा.दीपेन्द्र श्रेष्ठ, डा.रेश्की देव, डा.सविना श्रेष्ठ, डा. राजेश देव तथा डा.जयनेन्द्र प्रधानाङ्ग तथा अडियोलोजिस्ट विद्वान भुसाल र भागिमान विष्ट सञ्चालकको रूपमा रहेका छन् । सयौँ चलचित्र छायाङ्कनका साथ निर्देशन गरिसकेका चलचित्रकर्मी ढकालले स्वास्थ्य क्षेत्रबाट सामाजिक सेवा गर्ने उद्देश्यले उपचार केन्द्र सञ्चालनमा ल्याएको बताए ।

ढकालले कला क्षेत्रका व्यक्तित्वका लागि आफ्नो उपचार केन्द्रबाट विशेष सेवा र सहुलियत प्रदान गर्ने समेत बताए । त्यस्तै चलचित्र निर्माता तथा प्रदर्शक छिरिङले कला क्षेत्रसँगै अन्य क्षेत्रबाट समेत टेवा पुर्‍याउने उद्देश्यले केन्द्रलाई सञ्चालनमा ल्याएको बताए ।

प्रतिक्रिया