अजय‚ सिद्धार्थ र सबलको सहकार्यमा ‘गोबर’ चलचित्र बन्ने

एजेन्सी ।  भारतमा कोरोना कर्फ्यूको कारण छायांकन प्रभावित भएको छ । तर चलचित्र घोषणा गर्ने क्रम भने निरन्तर चलिरहेको छ । सिद्धार्थ रोय कपूर र अजय देवगणको सहकार्यमा ‘गोबर’ चलचित्रको घोषणा गरिएको छ । कमेडी ड्रामा जनराको चलचित्र सबल शेखावतले निर्देशन गर्दै छन् । चलचित्रको स्क्रिप्ट सबलले सम्भित मिश्रासँग मिलेर लेख्दैछन् ।

सबल निकट श्रोतका अनुसार चलचित्रको कहानी ९०को दशकमा सेट गरिएको छ । सटायरिकल जनराको चलचित्रमा भेटनरी डाक्टरले जनावरको न्यायका लागि लडेको लडाइँलाई देखाइनेछ ।

सबलका अनुसार ‘गोबर’ ले ९०को दशकको आकर्षक दिन र सानो सहरको जीवनमा लैजानेछ । यो चलचित्र वास्तविक जीवनमा आधारित भएर लेखेको उनले बताएका छन् । उनी टिमअपलाई लिएर समेत खुसी रहेका छन् ।

अजय भन्छन्, ‘गोबरको कहानी मनोरञ्जक, अनौठो र आकर्षक रहेको छ । मलाई विश्वास छ, यो चलचित्रले दर्शकलाई चलचित्र घरसम्म तान्नेछ । हामीलाई आसा छ हामीले जे सोचेर चलचित्र निर्माण गरेका छौँ । त्यो प्रभाव चलचित्रले दर्शकमा छोड्नेछ ।’

निर्माता सिद्धार्थ रोय कपूरका अनुसार यो चलचित्र एक व्यक्तिको असाधारण वीरताको कहानी हो । यो चलचित्रले एक सामान्य व्यक्ति कति सम्म शक्तिशाली बन्न सक्छ भन्ने देखाउनेछ । कमेडी चलचित्रका माध्यमबाट भ्रष्टाचारको कथा बोल्ने उनको दाबी छ ।

अजय देवगणका धेरै काम एक साथ चलिरहेका छन् । उनको चलचित्र ‘भुज : द प्राइड अफ इन्डिया’ को पोस्ट प्रोडक्सनको काम चलिरहेको छ । ‘मे डे’ का लागि उनी छायांकन स्थल खोजीका क्रममा छन् । ‘थ्यांक गड’ को छायांकन निर्माता दीपक मुकुटलाई कोरोना भए पश्चात् रोकिएको छ । त्यस्तै मैदान चलचित्रको कुराकानी चलिरहेको छ ।

प्रतिक्रिया