प्रचण्डलाई प्रधानमन्त्रीको फोन, सर्वदलीय बैठक बस्ने (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् । शुक्रवार कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका अध्यक्ष प्रचण्डलाई ओलीले फोन गरेका हन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘राम्रोका लागि हो कि नराम्रोको लागि हो, मलाई प्रधानमन्त्रीको फोन आयो । म एउटा गाउँपालिकाको भवन उद्घाटनमा छु भनेर भनेँ ।’

कार्यक्रमपछि प्रधानमन्त्री ओलीसँग थप कुराकानी गर्ने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘आउँदा देखेँ, बाटोहरु चाहिँ अलिक नाजुक नै रहेछ । म प्रधानमन्त्रीलाई पनि बाटो बनाइदिनुस् भनेर भन्नेछु ।’

तत्कालीन नेकपा पूर्ववत् अवस्थामा फर्केपछि ओली–प्रचण्डबिच त्यति फोन सम्वाद भएको बाहिरिएको छैन । यसबिचमा ओलीले पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्नको लागि प्रचण्डलाई फोन गरेका थिए ।

यता प्रधानमन्त्री ओलीले शनिवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईले मकालु खबरसँग बताएअनुसार यही बैठकबारे निम्तो दिनका लागि पनि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेका हुन् । ‘प्रधानमन्त्रीले भोलिका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ, सचेतक भट्टराईले भनेका छन् । बैठकमा संसद् अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया