प्रधानमन्त्री र गोयलबिच भएको भनिएको सम्झौता ‘फेक’ : प्रम सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुख सामन्त गोयलबिच भएको भनिएको चार बुँदे सम्झौताको कागजात ‘फेक’ भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उक्त कागजात फेक भएको बताए । ‘भारतीय अर प्रमुख र प्रधानमन्त्रीबिच भएको सम्झौता फेक हो,’ भट्टराईले भने, ‘सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाइनले प्रकाशित गरेका समाचार भ्रमपूर्ण निन्दनीय छ ।’

विदेश मामिलाजस्तो सम्वेदनशील विषयमा खेलवाड नगर्नसमेत सुझाव दिएका भट्टराईले आफ्नो ट्वीटर् ह्याण्डमा भनेका छन्– विदेश मामिलाजस्तो सम्वेदनशील विषयमा गरिने यस्ता खेलवाडप्रति सचेत हुन सबैमा आग्रह छ ।’

यसअघि बिहीवार उज्यालो नेटवर्क नामक अनलाइन पत्रिकाले उक्त सम्झौता प्रकाशित गरेको थियो । अंग्रेजी भाषामा रहेको उक्त कागजातमा अनअफिसियल ट्रान्सलेसन लेखिएको छ ।

गोयल विसं २०७६ को कात्तिकमा नेपाल आएका थिए । भ्रमणका क्रममा उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया