नेपालमा थप बिमा कम्पनी आवश्यक छैन : नारायण पौडेल (अन्तर्वार्ता)

नेपालमा १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । तर, जम्मा २७ प्रतिशत जनसंख्यामात्रै बिमाको दायरामा पुगेका छन् । तीन चौथाई जनसंख्याको बिमा अझै बाँकी रहनुले नेपालमा बिमा व्यवसायको बजार ठूलो छ भन्ने आकलन गर्न सकिन्छ । सञ्चालनमा रहेका १९ वटामध्येको प्रभु लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा बिमा व्यवसाय अघि बढाइरहेको छ । नेपालको जीवन बिमा बजार, व्यवसाय, नियमनमा भइरहेका अभ्यास, समस्या, चुनौती र अनुभवबारे प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण पौडेलसँग हामीले कुराकानी गरेका छौं :

१९ ओटा बिमा कम्पनीमध्ये प्रभु लाइफ इन्स्योरेन्सको उपस्थिति कस्तो छ ?
सञ्चालमा रहेका १९ मध्ये ९ ओटा जीवन बिमा कम्पनी धेरै पुराना हुन् । १० ओटा नयाँ हुन् । उनीहरू सञ्चालनमा आएको ३ वर्ष पूरा भएको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी पनि गएको मंसिरमा ३ वर्ष पूरा गरेर चौथो वर्षमा चलिरहेको छ । यसैले हामीले आफूलाई पूराना कम्पनीसँग भन्दा नयाँ सञ्चालनमा आएका बाँकी ९ कम्पनीसँग तुलना गर्नुपर्ने हुन्छ । यसरी तुलना गर्दा हाम्रो कम्पनीको बजार वर्चस्व औसत छ । कम्पनीको व्यावसायिक वृद्धिदर बर्सेनि बढ्दै गएको छ । यो वृद्धिदर सन्तोषजनक छ । बिमा व्यवसाय, नाफालगायत वित्तीय सूचकांकहरु पनि बढ्दो क्रममा छन् । आगामी दिनमा पनि यो वृद्धि कायम नै रहेर कम्पनी आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने हामीलाई विश्वास छ ।

नेपालको २७ प्रतिशत जनसंख्यामा मात्र बिमाको पहुँच पुगेको छ । १९ वटा कम्पनी हुँदा पनि किन अझै जीवन बिमा आम नागरिकको पहुँचमा पुग्न सकिरहेको छैन ?
नेपालमा ५–७ वर्षअघिसम्म निकै कम मानिसले मात्र बिमा गरेका थिए । २०७५ फागुनमा १८ प्रतिशत पहुँच पुगेको थियो । २०७६ फागुनमा २२ प्रतिशत पुग्यो । वैदेशिक र म्यादी जीवन बिमा पनि समावेश गर्दा २७ प्रतिशत पुगेको छ । यसले एक चौथाई जनसंख्या मात्रै बिमाको पहुँचमा छन् अर्थात् ३ चौथाई जनता अझै बिमाको पहुँचमा छैनन् भन्ने देखाउँछ । ती जनतामा जाँदा बिमा कम्पनीहरुका लागि पर्याप्त व्यवसाय र बजार छ ।

नेपालका १९ वटा जीवन बिमा कम्पनीले नेपाली परिवारको संरचना, ती परिवारका व्यक्तिको रुची, चाहनाअनुसार सुहाउँदो प्रडक्ट ल्याउने र त्यसको मूल्य उनीहरुलाई सुहाउँदो ल्याउने हो भने बिमाको भविष्य उज्ज्वल देखिन्छ । यसका लागि बिमा के हो ? यो किन गर्ने भन्ने कुरा आम मानिसलाई बुझाउन आवश्यक छ । खास गरी जोखिमविरुद्धको सुरक्षा प्राप्त गर्न जीवन बिमा गरिन्छ । परिवारमा कमाउने मान्छे, मुलिमान्छेको अप्रत्यासित निधन भए आश्रित परिवारको गर्जो टार्न बिमा उपयोगी हुन सक्छ । भवितव्य घटना नभए पनि बिमा पोलिसी परिपक्व हुँदा बचत र त्यसले आर्जन गरेको बोनससहित बिमाबापतको रकम फिर्ता पाइन्छ । गर्जो टार्न सकिन्छ भनेर बुझाउन आवश्यक छ । यसरी बिमाले भविष्यको बचतलाई पनि सुनिश्चित गर्दछ । यो कुरा बुझाउन वित्तीय साक्षरता र बिमा सचेतना बढाउनुपर्छ । पछिल्लो समयमा बिमाको पहुँच बढ्दै गएको छ यो खुसीको कुरा हो ।

बिमा कम्पनीहरुले सार्वाधिक, होललाइफ, मनी ब्याक, एउटा गर्दा अर्कोको पनि कभरेज हुनेजस्ता उस्तै प्रकृतिका योजना ल्याएको पाइन्छ यो समानता किन ?
बिमा कम्पनीले उपलब्ध गराउने प्रडक्टका विशेषता र मूल्य हेर्ने हो भने केही पृथकता पाइन्छ । तर, जुनसुकै बिमा कम्पनीले जारी गर्ने बिमालेखमा अन्तरर्निहित सिद्धान्त प्रायः एउटै हुन्छ । जस्तैः जोखिमविरुद्धको सुरक्षा, भविष्यका लागि बचतजस्ता सिद्धान्त निहित हुन्छन् नै । यो परम्परागत सिद्धान्त हो । त्यस्तै, अतिरिक्त बजारको मागअनुसार म्यादी (टर्म पोलिसी) छोटो वा निश्चित समयका लागि गरिने बिमा, मनी ब्याक भन्ने प्रडक्ट आएको छ । परिपक्व हुनुअघिबाटै निश्चित समयान्तरमा निश्चित रकम फिर्ता हुँदै जाने हुन्छ । पढाइ, विवाह, सामाजिक‚ सांस्कृतिक आवश्यकताजस्ता गर्जो टार्ने बचतको रुपमा पनि बिमा गर्न सकिन्छ । त्यसका लागि मनि ब्याक प्लान उपयुक्त हुन्छ । त्यसकारण बजारको चाहना के हो भन्ने ध्यानमा राखेर प्रडक्टहरु जारी गरिएका हुन्छन् ।

विशेषताहरु फरक भएपनि प्रडक्ट करिब उस्तै हुन्छन् । कसैले फरक सोचले नयाँ प्रडक्ट ल्यायो र त्यो राम्ररी बजारमा चल्यो भने अन्य कम्पनीले पनि त्यसलाई आत्मसात गर्दै अघि बढ्छन् ।

आइपर्नसक्ने जोखिम कम गर्न र अनिवार्य बचतका लागि बिमा गरिन्छ । तर, जोखिममा परेर क्षति पुगेको बेला पनि बिमा कम्पनीबाट भुक्तानी लिन साह्रै गाह्रो हुन्छ भन्ने गुनासो व्याप्त छ नि ?
हाम्रो कम्पनीको हकमा भन्दा हामी नयाँ कम्पनी हो । माइक्रोमाबाहेक अन्य महिनामा २/४ ओटा मात्र दाबी भुक्तानीका लागि आउने गरेका छन् । हामीले चाहिँ सबै कागजात पुगेको तथा शंका गर्ने कुनै ठाउँ नरहेको अवस्थामा सेवाग्राहीलाई कागजात प्राप्त भएको सात कार्यदिन भित्र दाबी भुक्तानी दिने गरेका छौं । कम्पनीको व्यवस्थापनकै कार्यक्षेत्रभित्र परेकोमा धेरै दिन लाग्दैन । कहिलेकाहीँ बिमांक रकमको आधारमा पुनर्बीमा कम्पनीहरुसँग पनि राय सुझाव लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा एक दुई दिन बढी लाग्ला । तर, धेरै चौथो वर्षमा रन गरिरहेका हाम्रो कम्पनीमा संख्यात्मक हिसाबले र रकमै हिसाबले पनि धेरै दाबी भुक्तानी पर्दैनन् । त्यसो हुँदा समस्या पनि छैन । पुराना कम्पनी जसको बिमा संख्या र रकम बढी छ उनीहरुकोमा दाबी भुक्तानीको समस्या पनि बढी हुन सक्छ । शंकास्पद देखिएर केही अनुसन्धान गर्नु पर्‍यो भने ८/१० कार्य दिनभन्दा बढी लाग्दैन ।

बजारमा पुराना, बीचमा सञ्चालमा आएको र हालै सञ्चालनमा आएका गरी ३ किसिमका कम्पनी छन् । बिमा पहुँच बढाउन नयाँ आउन चाहेका कम्पनीलाई पनि लाइसेन्स दिनुपर्ने आवाज उठिरहेको बेला यहाँहरुलाई चुनौती अझै थपिने देख्नुहुन्छ ?
अहिले नै १९ वटा बिमा कम्पनी छन् । प्रतिस्पर्धा अझै बढेर गएको छ । आ-आफ्नै अनेक प्रोडक्ट र शाखा सञ्जाल बढेका छन् । मेरो व्यक्तिगत विचार भन्ने हो भने अहिले नयाँ कम्पनी ल्याउनु आवश्यक छैन । भइरहेकै कम्पनीको नेटवर्क बढाउने, शाखा सञ्जाल अझै विस्तार गर्न आवश्यक छ । तर, अनुमति दिने, नदिने वा कहिले दिने भन्ने विषय नियामक बिमा समितिको अधिकारको कुरा हो । नयाँ कम्पनी थपिए भने बजारमा प्रतिस्पर्धा बढ्छ । व्यवसाय बाँडिन्छ यो त निश्चित नै छ ।

बिमा कम्पनीका लागि बिमा समितिले गरेका नीतिगत व्यवस्था र प्रयासहरु कत्तिको प्रभावकारी पाउनु भएको छ ?
बिमा समितिसँग निरन्तर छलफल भइरहेको हुन्छ । बिमा समितिकै पलमा छलफल भइरहेको छ । बिमा समितिमा नयाँ अध्यक्ष आएको ३ महिनाकै अवधिमा पनि विभिन्न फोरममा विभिन्न किसिमका छलफल र गोष्ठी भएका छन् । सिइओ, सञ्चालक समितिका अध्यक्षहरुसँग छलफल भएको छ । यी छलफलबाट हामीले बिमा व्यवसायमा स्वस्थ प्रतिस्पर्धा होस्, बीमितको हित संरक्षण होस्, संस्थागत सुशासन स्थापित होस्, वित्तीय पारिदर्शिता होस् र बिमा पहुँच बढ्दै जाओस् भन्ने बिमा समितिको ध्यान र आग्रह रहेको पाएका छौं । यसका लागि आवश्यक नीति, नियम र सर्कुलर बनाइदिएको हामीले पाएका छौं । पछिल्लो समय बिमा क्षेत्रको विकास र विस्तारका लागि परेका अप्ठेरा सम्बोधन गर्न बिमा समिति अत्यन्त सम्वेदनशील र क्रियाशील रहेको हामीले पाएका छौं ।

बैंक तथा वित्तीय संस्थाजस्तै बिमा कम्पनीहरू पनि मर्ज भएर गए बिमा क्षेत्र अझ बढी बलियो भएर जान सक्छन् भन्ने तर्क पनि सुनिन्छ नि ?
मर्जर किन गर्ने भन्ने विषयबाट यो कुरा सुरु गर्नुपर्छ । दुई वा दुईभन्दा बढी कम्पनीबीच मर्ज हुँदा सिनर्जी इफेक्ट हुन्छ भने मर्ज गर्ने हो । धेरै संख्यामा ससाना पूँजी भएका संस्था बजारमा हुनुभन्दा ठूलो पूँजी भएका थोरै संख्याका संस्था बजारमा भए भने सुपरीवेक्षकीय, नियामकीय, सञ्चालन हरेक हिसाबले राम्रो हुन्छ भन्ने विश्वभर चलेको अभ्यासका कारण नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबीच मर्जरको नीति लिएको हो ।

यसले बैंक वित्तीय संस्थालाई अझ बलियो र व्यवस्थित बनाएको पनि छ । एउटै समूह, एउटै व्यावसायिक घरानाका व्यक्ति, एउटै छाताअन्तर्गतको स्वामित्वमा रहेका विभिन्न संस्था छन् भने ती व्यक्तिले सञ्चालन गरेका कम्पनी मर्ज हुनुपर्छ भन्ने सिद्धान्त हो । यी दुई सिद्धान्तमध्ये कुन सिद्धान्तमा आधारित रहेर मर्ज गर्ने भन्ने हो ।

बिमा कम्पनीका हकमा क्रस होल्डिङ लगानी भएका संस्थापकहरुले सञ्चालन गरेको कम्पनीहरु मर्ज हुनुपर्दछ भन्ने पनि छ । जीवन बिमा सञ्चालन गर्ने एउटै लगानीकर्ताले दुई वा दुईभन्दा बढी कम्पनीमा लगानी गरेको हुन सक्दछ । त्यस्तै, जीवन बिमा सञ्चालन गर्नेले निर्जीवन बिमा पनि सञ्चालन गरेको हुन सक्छ । त्यसो हुँदा त्यस्ता लगानीकर्ताले सञ्चालन गरेको कम्पनी मर्ज भए राम्रो हुन्थ्यो भन्ने आशय नियामकको हुन सक्दछ । यही उद्देश्यले बिमा समितिले बिमा कम्पनीबीचको मर्जर वा एक्विजिशनलाई प्राथमिकता दिएको हुनुपर्दछ ।

बिमाको पहुँच बढ्न नसक्नुमा आम सर्वसाधारणमा बिमाप्रतिको सचेतनाको कमी पनि देखिन्छ । आम नागरिकलाई यहाँको सुझाव के छ ?
कहिलेकाहीँ फिल्ड भिजिट र शाखातिर जाँदा सेवाग्राही तथा आम नागरिकले कम्पनीहरुको दीर्घकालीन सञ्चालनप्रति प्रश्न उठाउने गरेको पाइन्छ । यसको जवाफमा मैले के भन्दै आएको छु भने बिमा ऐन, नियमावली, नियमावली जस्ता कानुन छन् । हाम्रो काम कारवाही हेर्ने राज्य अर्थात् बिमा समिति छ । प्रत्येक ३/३ महिनामा हामीले हाम्रो अवस्था सार्वजनिक गरेका छौं । संकलन गरेको रकमको सदुपयोग कसरी भयो भन्ने कुरा हामीले वित्तीय विवरणमार्फत सार्वजनिक गरेका छौं ।

बिमा समितिले आवश्यकता अनुसार सुपरीवेक्षण गरेको हुन्छ, निर्देशन दिइएको हुन्छ । त्यसकारण बिमा कम्पनी वा बिमा व्यवसायसम्बन्धी जानकारीका लागि बुझाइको तह माथि उठाउनुपर्ने आवश्यकता छ । यिनिहरुले अस्वस्थ प्रतिस्पर्धा गर्लान्, बिमितको रकमको सुरक्षामा ध्यान नदेलान् भनेर डराउनुपर्ने अवस्था छैन । कतिपय क्षेत्रमा नियमन नभएका संस्थाहरू होलान् । तर, नेपालमा सबैभन्दा बढी मजबुत, संवेदनशील, व्यवस्थित र क्रियाशील क्षेत्र बैंकिङ र बिमा क्षेत्र नै हो । त्यसो हुँदा जोखिमविरुद्ध सुरक्षित हुन र भविष्यको बचतका लागि बिमा आवश्यक छ भनेर बुझ्न आवश्यक छ ।

प्रतिक्रिया