प्युठान जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो, ४ घाइतेलाई काठमाडौं ल्याइँदै

काठमाडौं । बुधबार बिहान प्युठानमा भएको जीप दुर्घनामा परी मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । प्युठानका प्रजिअ खिमलाल भुसालले मकालु खबरलाई दिएको जानकारीअनुसार मृतकको संख्या ५ पुगेको हो । ‘यहाँ ५ जना बितिसक्नुभयो,’ भुसालले भने, ‘हामीले ४ जनालाई भने उपचारको लागि काठमाडौं पठाउने व्यवस्था गरेका छौँ । हेलिकोप्टर आउँदैछ, छिट्टै उहाँहरु काठमाडौं पुग्नुहुन्छ ।’
भुसालका अनुसार मृत्यु हुनेहरुमा सूर्य पन्थी, यमलाल पन्थी, ईश्वर भण्डारी, श्याम न्यापाने र चालक केशव कार्की रहेका छन् । कार्कीबाहेक अन्य मृतकहरु जिल्ला प्रशासन कार्यालय, प्युठानका कर्मचारीहरु हुन् ।
नयाँ वर्षको अवसर पारेर जिप्रका, गुल्मीका १४ जना कर्मचारी परिवारसहित स्वर्गद्वारी दर्शनका लागि बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जीपमा गएका थिए । जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटना भएको थियो ।
जीप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो । घटनामा १० जना घाइते छन् ।








