फुटबलका लागि अस्पताल जाने बाटो नै बन्द

विराटनगर । अपराह्नको ५ बजेको थियो । विराटनगरको व्यस्त हुने सडकमध्येको एक कोशी अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्मको बाटो बन्द गराइएको थियो ।

यही सडकमा कोशी अस्पतालसहितका तीनओटा ठूला अस्पताहरू छन् । बिरामी बोकेर ओहोर दोहोर गर्ने मोटरसाइकलले मात्र होइन‚ कारहरुले पनि सहज आउजाउ पाएका थिएनन् । कोशी अस्पतालबाट पुष्पलाल चोकतर्फ जाँदै गरेका स्थानीय बिनोद ढकाललाई पनि ट्राफिक प्रहरीले बाटोमै रोक्यो ।

उनले आफू अस्पतालबाट आएको र घर जान दिन गरेको आग्रहलाई ट्राफिक प्रहरीले मानेन र हप्काएर फर्कायो । आफूलाई रोक्नुको कारणबारे कसैले पनि उनलाई सहज जानकारी दिएनन् । उनीमात्र होइन‚ रंगेलीबाट उपचारका लागि आएका श्याम मण्डललाई पनि ट्राफिक प्रहरीले त्यसैगरी रोक्यो । उनी उपचारको लागि सुरक्षा अस्पतालमा आफन्तलाई लिएर आएका थिए । उनले निक्कै पटक आग्रह गरेपछि मात्र ट्राफिक प्रहरीले अर्को पटक नआउन भन्दै छाड्यो । झण्डै ५ मिनेटको यो अवधिमा थुप्रैलाई यसैगरी सडकमा रोक्ने र फर्काउने कामममा ट्राफिक प्रहरी सक्रिय थियो ।

No description available.

झण्डै ३ सय मिटरको दूरीमा रहेको सहिद रंगशालामा भइरहेको फुटबल प्रतियोगिता नै यो सबैको कारण बनिरहेको थियो । जिल्ला प्रशासन कार्यालयदेखि अदालत छिर्ने घुम्तीसम्मको सडकमा कुनै पनि सवारीलाई चल्न नदिइएको र सर्वसाधारणलाई समेत आउजाउमा रोक लगाएपछि धेरैले आक्रोशसमेत पोखेका छन् । टाढाबाट बिरामी लिएर आएकालाई पनि ट्राफिक प्रहरीले गाली गर्ने‚ अस्पताल समेत जान नदिनेजस्ता कार्य गर्दा उनीहरुमा स्वभाविक आक्रोश देखिन्थ्यो । ‘यसरी सडक नै बन्द गरेर अस्पताल जानसमेत रोकिनु हुन्न थियो,’ मण्डलले भने, ‘हामीजस्ता बिरामी लिएर आएकाहरुको समस्या पनि बुझिदिने कोही भएन ।’

सडक बन्द गर्ने अग्र मोर्चामा रहेका ट्राफिक प्रहरी गोपाल खनालले कसैलाई प्रवेश गर्न नदिनू भन्ने माथिको आदेशअनुसार छिर्न नदिएको बताए । उनले मकालु खबरका संवाददातालाई नजिकै आएर भिडियो नखिच्न भन्दै चेतावनीसमेत दिन भ्याए ।

विराट गोल्ड कपमा मंगलबारको खेल संकटा र अफ्रिकन रुट्सबीच हुने भएकाले सडक नै बन्द गराएर आउजाउ रोकिएको थियो । विराट गोल्डकप आयोजक समितिका संयोजक मनोजबिक्रम शाहले सडक बिरामीलाई नै अप्ठेरो पर्नेगरी सडक अवरुद्ध नगर्न भनिएको बताए । खेल मैदान वरिपरी भीड हुने डरले ट्राफिक प्रहरीले कडाइ गरेको हुनसक्ने उनले बताए ।

साँझ ७ बजेदेखि शुरु हुने फुटबल प्रतियोगिताका लागि दिउँसैदेखि बाटो बन्द गराएर सर्वसाधारणलाई आउजाउमा नै समस्या सिर्जना गराएका छन् । सो सडक भएर हिँड्ने कतिपयलाई कोशी मेनरोड भएर जान भनिएको थियो भने कतिपयलाई अदालतको बाटो भएर जान भनिएको थियो ।

प्रतिक्रिया