चालू वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने अर्थमन्त्रालयको दाबी

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ मा ५ प्रतिशतको आर्थिक वृद्धिर प्राप्त हुने अर्थमन्त्रालयले दाबी गरेको छ । संसदको अर्थसमितिले आयोजना गरेको बजेट कार्यान्वयन र आगामी बजेटसम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्रालयको तफबाट यस्तो दाबी प्रस्तुत गरिएको हो । कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले उक्त वृद्धिदर प्राप्त हुने जानकारी गराएका हुन् । विश्व बैंकले समेत नेपालको आर्थिक गतिविधि अहिलेकै अवश्थामा अघि बढे २.७ प्रतिशतको आर्थिक वृद्धि हुने बताएको भन्दै उनले ५ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्न गाह्रो नभएको बताए ।

पहिलो चरणको कोभिड–१९ कारण गरिएको लकडाउनपछि हाल नेपालको अर्थतन्त्रमा ‘भि’ आकारको सुधार देखिएको भन्दै उनले उक्त आर्थिक वृद्धि दर प्राप्तिमा समस्या नरहेको बताएका हुन् । चालू वर्षको बजेटमार्फत सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुने लक्ष्य प्रक्षेपण गरेको छ ।

चालु वर्षमा हालसम्म पूँजीगत खर्च ३० प्रतिशत भइसकेको भन्दै उनले जानकारी गराएका छन् । राजस्व संकलन पनि लक्ष्यभन्दा बढी हुने उनको भनाई छ । मंगलबार साँझसम्म ७ खर्ब १९ अर्ब राजस्व संकलन हुने अनुमान रहेको समेत उनले बताएका थिए । चैतमा १ खर्ब २ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा उक्त लक्ष्य सहज रुपमा पूरा हुने उनले बताए । तर, आयकर संकलनतर्फ राजस्वको लक्ष्य पूरा नभएको र भन्सार तर्फभने लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उलने बताए ।

वित्तीय अनुशासनभित्रै रहेर रकमान्तर गरिएकोले पनि बजेट कार्यान्वयनमा लक्ष्य प्राप्त हुने उनको दाबी छ ।

प्रतिक्रिया