कर्जा विस्तार गर्दा गुणस्तरलाई ध्यान दिन बैंकहरुलाई गभर्नरको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तार गर्दा कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन दिएका छन् । नयाँ वर्षको शुभकामना आदानप्रदान तथा वर्तमान अवस्थाबारे छलफल गर्न गभर्नर अधिकारीले मंगलबार दिउँसो बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग आयोजना गरेको भर्चुअल बैठकमा यस्तो निर्देशन दिएका हुन् । बैंकहरु आक्रामक रुपमा कर्जा विस्तारमा लागि परेको तर गुणस्तरमा ध्यान दिन नसक्दा खराब कर्जा बढ्ने भएकोले गुणस्तर सुधार्न उनले निर्देशन दिएका हुन् ।

बैठकमा उनले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुबाट सुझाव समेत लिएका थिए । बैठकमा बोल्ने अधिकांक बैंक वित्तीय संस्थाका प्रमुखले १ वर्षका लागि स्थगित गरिएको साढे २ प्रतिशतको साइक्लिक बफरलाई अझै एक वर्ष स्थगित गर्न माग गरेका थिए । हाल बैंकहरुले पूँजी पर्याप्तता अनुपात ११ प्रतिशत कायम गरिएकोमा उक्त साढे २ प्रतिशतको बफर स्थिगत नगर्ने हो भने यस्तो अनुपात साढे १३ प्रतिशत कायम गर्नुपर्ने बताएका थिए ।

त्यस्तै, कर्जा–पूँजी–निक्षेप अनुपात (सीसीडी) रेसियोलाई ८५ प्रतिशतमै निरन्तता दिन उनीहरुले माग गरेका थिए । अनिवार्य तरतता अनुपात (सीआरआर) ३ प्रतिशतलाई पनि निरन्तरता नै दिनुपर्ने माग गरेका छन् । त्यस्तै ३ प्रतिशतको स्पे्रड दर बढाउन पनि उनीहरुले माग गरेका छन् । २ प्रतिशतमा पुनकर्जा लिएर ३ प्रतिशत राखी ५ प्रतिशतमा कर्जा दिँदा बैंकहरुलाई घाटा हुने भन्दै यसलाई बढाउन समेत उनीहरुले माग गरेका हुन् ।

सुझावहरूकाे अध्ययन गरी आवश्यक कदम चाल्ने गभर्नर अधिकारले बताएका छन् ।

बैठकमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना र बमबादुर मिश्र, बैंकर्स संघका अध्यक्ष भुवन दहाल, विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेल, फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने, सिभिल बैंकका गोबिन्द गुरुङ, नेपाल एसबीआइ बैंकका दीपककुमार दे, नेपाल बंगलादेश बैंकका ज्ञानेन्द्र ढुङ्गाना, मेगा बैंकी अनुपमा खुञ्जेली, कृषि विकास बैंकका अनिल उपाध्ययलगायतले धारणा राखेका थिए ।

 

प्रतिक्रिया