कर्कलोलाई बन्चरोको प्रहार

एकदिन एक बौद्ध भिक्षुले गणेश र उदायन नाम गरेका आफ्ना शिष्यहरुलाई बोलाएर छिमेकी गाउँमा कामका लागि पठाए । यो बिहानको समय थियो । उनीहरू गुरुको आज्ञा र निर्देशनबमोजिम खुसी भएर त्यसतर्फ प्रस्थान गरे । बाटोमा समय कटाउन उनीहरुले नैतिकताको बारेमा बहस थाले । गफ गर्दै हिँडेका उनीहरू बाटोमा पर्ने सानो खोला नजिक पुगेर टक्क अडिए ।

खोलो उति गहिरो थिएन, तर पानीको बहाव कडा थियो । उनीहरू पानीमा पस्नै के आँटेका थिए, एक युवतीलाई देखे । युवती अलमलमा परी हडबडाएर खोलो नजिक उभिइरहेकी थिइन् । उदायनले युवतीप्रति ध्यान दिएन तर गणेशले भने केहीबेर सोच्यो र युवती नजिक पुगेर मुस्कुरायो । युवती पनि मुस्कुराई । गणेशले युवतीलाई खोला तारिदिने प्रस्ताव राख्यो । युवतीले तत्काल सहर्ष स्वीकार गरिन् । गणेशले युवतीलाई दुई पाखुरीमा च्याप्प समायो र पारी तार्‍यो । युवती उसलाई धन्यवाद दिएर आफ्नो बाटो लागिन् ।

साथीले गरेको काम उदायनले मन पराएन । बाटोमा पनि धेरै गफ गरेन । गाउँ पुगेर गर्नुपर्ने काम सम्पन्न गरेर उनीहरू कुटी फर्किए । त्यसपछि दुवैले आफूले गरेका काम गुरुलाई बेलिविस्तार लगाए । उदायन नराम्ररी रिसाएर विचलित भएको छ भन्ने गुरुले थाहा पाए । ‘तिमी किन यस्तो गम्भीर देखिएका छौ उदायन ?’ गुरुले सोधे । ‘गणेशले त्यस्तो नीच र अधम काम गर्नु हुँदैनथ्यो । हामी भिक्षु भएकाले नैतिकताका आधारमा हामीले कुनै पनि तरुनी छुनु हुँदैन ।’

अब गुरुले प्राश्निक नेत्रले गणेशतिर हेरे । गणेशले जवाफ दिए, ‘मैले त एउटी असहाय युवतीलाई खोलो तार्न सहयोग गरेको मात्र हुँ । मैले उनलाई खोलो पारी पुर्‍याएर त्यहीँ छाडिदिएको थिएँ । तर उदायनले त त्यो कुरा दिमागमा खेलाउँदै यहाँसम्म ल्याइरहेको रहेछ ।’ आफ्नो शिष्यको जवाफ सुनेर गुरु बौद्ध भिक्षु गर्वपूर्वक मुस्कुराए ।

यदि गौतम बुद्धको समयमा अहिलेको जस्तो सूचना प्रविधिको जबर्जस्ती आक्रमण हुन्थ्यो भने सम्भवतः नैतिकताका यस्ता शाश्वत सन्देश नै जन्मिने थिएनन् । मानिसले एक शब्द बोल्नुपर्‍यो भने उसका ७२ ओटा अंग सक्रिय हुनुपर्छ । हो, अब त्यो बोली कति सार्थक र कति निरर्थक बनाउने ऊभित्रको इमान्दारीताको प्रश्न हो ।

पृथ्वी चेप्टो छ भन्ने मान्यता भएको समयमा ग्यालिलियोले घोषणा गरिदिएका थिए – होइन पृथ्वी गोलो छ । उनलाई पृथ्वी चेप्टो भनेर स्वीकार्न बारम्बार आग्रह गरियो तर उनी आफ्नो भनाइमा टसमस भएनन् । अन्त्यमा रोज्नुपर्ने यस्तो घडी आयो, कि मृत्यु कि चेप्टो पृथ्वी । उनी मृत्यु स्वीकार्न तयार भए, पृथ्वीलाई चेप्टो भनेनन् । ग्यालिलियोको भौतिक शरीर संसारमा नभएको धेरै भयो । आखिर पृथ्वी गोलो प्रमाणित भयो । त्यही अडानको परिणाम ग्यालिलियो कहिल्यै नअस्ताउने ग्रह भएर बाँचिरहे ।

अब रेडियोभित्र साना मान्छे हुन्छन र झिंगाले घडीको काँटा चलाउँछ भनेर मान्छे अल्मल्याउने दिन गए । बेलुका सुतेको मानिस बिहान संसारभर फैलिएको प्रविधि र गतिसँग मिल्न सकेन भने ऊ विक्रम टेम्पो हुनपुग्छ । जेलनेल खाएको, प्रवास बसेको, अर्काको काँक्रा चोर्दा काँडाले दरफर्‍याएको खतलाई तानाशाहीको निशानी भन्दै झुटको खेतीमा अब कसैले छाती नफुलाए हुन्छ । बहादुरी गर्ने जो कसैले जहाँ पनि झण्डा गाड्न सक्छ ।

एउटा रोगी रामदेव आफूभित्रको इच्छाशक्ति बालेर आफूमात्र चुस्त भएनन्, दीर्घ जीवन बाँढ्ने सर्वस्वीकार्य दूत भएका छन् । एउटा युवा मार्क जुकरबर्गले फेसबुक मार्फत संसारमा यस्तो क्रेज ल्याए, उनको आविष्कार हरेक तह र तप्काका लागि अक्सिजन सावित भएको छ । विश्वको हावा यता बगिरहेका बेला हामी चाहीँ हावामा तरवार चलाएर समृद्धिको राग किन अलापिरहेका छौं ? रत्नपार्कमा बेच्न राखिएको ५० रुपैयाँको घडीलाई त पानीमा डुबाएर विश्वसनीय भएको प्रमाणित गर्नुपर्छ भने देशका भाग्य विधाता भनिएका नेताहरू किन त्यो घडीभन्दा सस्तो बन्दैछन् ? उत्तर नभेटिएको तर सबैलाई लागेको उदेकलाग्दो  प्रश्न यही हो ।

बीपीको फोटोलाई ‘कुन बुढाको फोटो ?’ भनेर सोध्ने डनहरू महासमिति र महाधिवेशन प्रतिनिधि बने । कांग्रेसको सक्कली बाटो यो है भनेर खबरदारी गर्ने कृष्णप्रसाद भट्टराई, शैलजा आचार्यजस्ता निष्ठाका धरोहरहरुले ‘अछूत’ भएर मृत्युवरण गर्नुपर्‍यो । भीमबहादुर तामाङ, रामहरी जोशी, ढुण्डीराज शास्त्री, चक्र बास्तोलाहरू कांग्रेसको सक्कली नाताबाट बाहिरिसकेका छन् । मनकामनादेवीको महिमा शिरोपर गरेर  आफ्नो जीवन शुरु गरेका तिनै बाबुराम जन्म दिने बाआमालाई डोर्‍यायाएर मन्दिर लैजाँदा पनि आफू खुल्न सकेनन् । बरू भनिदिए- विज्ञान प्रविधिको चमत्कार हेर्न आएको । मनमा लाग्ने एउटा, गर्ने अर्को अनि भन्ने झन् उल्टो । हो यसैलाई भन्छन्- पाखण्ड । राज्य सञ्चालन गर्ने नेताहरुले आफ्नो राज्यको संस्कार, संस्कृति, जनताको जीवनशैली नबुझी विवेकलाई सिद्धान्तमा घोलेर खुवाउन खोजे भने त्यो आत्मघाती हुने निश्चित छ । एउटा पिपलको बोट त मानिसको सामीप्य पाएन भने फैलन सक्दैन भने मानिसलाई मानिसबाट अलग गराएर गरिने राजनीति कस्तो होला ? त्यसैले सफल नेता सनकमा चल्नु हुँदैन ।

राज्य सञ्चालन गर्ने नेताहरुले आफ्नो राज्यको संस्कार, संस्कृति, जनताको जीवनशैली नबुझी विवेकलाई सिद्धान्तमा घोलेर खुवाउन खोजे भने त्यो आत्मघाती हुने निश्चित छ । एउटा पिपलको बोट त मानिसको सामीप्य पाएन भने फैलन सक्दैन भने मानिसलाई मानिसबाट अलग गराएर गरिने राजनीति कस्तो होला ? त्यसैले सफल नेता सनकमा चल्नु हुँदैन ।

क्रान्तिकारी चरित्र आज्ञाकारीमा पुगेर विसर्जन गर्नु नै छ भने पाखण्डी क्रान्तिकारी देखिनुको के अर्थ हुन्छ ? कमरेड माओले आफ्नो छोरो युद्धमा पठाए । छोरो युद्ध मैदानमा शहीद भयो । तर त्यही माओको राजनीतिक विचारधारा बोकेका नेपालका कम्युनिस्टहरू आफ्ना सन्तानलाई वृत्ति विकासका लागि युरोप, अमेरिका पठाउँछन् । कार्यकर्तालाई भने माघको ठण्डीमा आइसक्रिम थमाएर स्वार्थको रोटी सेक्न पठाउँछन् । उत्ताउलो राजनीतिको परिणाम कस्तो हुन्छ ? त्यसको सटिक उदाहरण हुन्- डा. केआई सिंह ।

२०१५ सालमा आफ्नो पार्टीको पक्षमा भाषण गर्दै केआइसिंहले भनेका थिए’ ‘हेर्नोस् ! यो मेरो बुढो जुँगाका प्रत्येक रौं मा १२ वटा बाघको तागत छ । त्यो कोपारा चोर पार्टी (कांग्रेस)को त्यो गणेशमान भन्ने पिलन्धरेलाई भोट किन दिने ? यो देश बिगार्न ।’ परिणाम ठीक उल्टो आयो । गणेशमान सबैभन्दा बढी भोट ल्याएर जिते । हरुवामा पनि पुष्पलाल श्रेष्ठ, प्रेमबहादुर शाक्यपछि मात्र केआई सिंह आउन सफल भए ।

जिन्दगी दुईदिनको हुन्छ । एकदिन तपाईंको हितमा हुन्छ, एकदिन विरुद्धमा । जुन दिन हितमा हुन्छ, त्यो दिन घमण्ड गर्नुहुँदैन । र जुन दिन विरुद्ध हुन्छ, त्यो दिन संयमता गुमाउनु हुँदैन । गाली सुन्न नचाहनु व्यक्तित्व पतनको पूर्वाभ्यास हो । धेरै पर जानै पर्दैन । पञ्चायती शासनका निर्विवाद बादशाह शरदचन्द्र शाहले विदेशी भूमिमा प्राण त्याग्नुपर्‍यो । उत्तरार्द्धमा त उनमा गतिलो उपचार गर्ने क्षमता नै भएन । उनको मृत शरीरले आर्यघाटको ब्रम्हनाल छुने मौका पाएन । शेरे धनुषा भनेर ख्याती कमाएका हेमबहादुर मल्ल बितेको धेरैले पत्तै पाएनन् । कहिले  समयले त्यही व्यक्तिलाई बाघ बनाउँछ भने कहिले उसैलाई मूसो । आफू कुन धरातलमा अडिने भन्ने चाहिँ कर्म गर्नेहरुको हातमा भर पर्छ ।

भगवान कृष्णले भनेका छन्- सुरक्षाको घेरा तोड किनकी सुरक्षाको घेराभित्र चोर, डाका संरक्षित हुन्छन् । आफूभित्रको स्वधर्म कहिल्यै मर्न दिनु हुँदैन । सुन्दा पनि रमाइलो लाग्छ– मि. नटबरलाल सिनेमा बनाउँदा नटबरलालले निर्मातासँग ५ लाख कमिसन असुलेका थिए । चन्दन तस्कर वीरपन मारिनुअघि भारतमा चन्दन तेलको मूल्य ३५ हजारबाट बढेर एक लाख पुगेको थियो । त्यसैले कर्म- कुकर्म, अँध्यारो-उज्यालो, विवेक-व्यभिचार यिनीहरुको दूरी टाढाको छैन । फिलिपिन्सका तानाशाह फर्डिनान्ड मार्कोसकी श्रीमती ईमिल्डासँग २५ हजार जोर जुत्ता थिए । उनी एकपल्ट लगाएको जुत्ता अर्कोपल्ट लगाउँदैन थिइन् । उनी कसरी नासिइन् सबैलाई थाहै छ ।

रातदिन रुपान्तरणका खैंजडी बजाउने अनि त्यो घडी आएपछि कुतर्क गरेर पन्छिने हाम्रा नेताहरुको दिनाचर्या भएको छ । पहिले पुरानो समयमा हारभंग राजा र भारभंग मन्त्री राज्य गर्थे रे । भनिन्छ– उनीहरू आफू पनि राम्रो काम नगर्ने र राम्रो काम हुन लाग्यो भने भत्काउने गर्थे । हो, अहिलेको अभ्यास त्योभन्दा पर छैन । मलेसियामा सार्वजनिक शौचालय अत्यन्तै दूषित भएपछि त्यसविरुद्ध अभियान सञ्चालन गर्न सरकारले क्याम्पसमा शौचालय व्यवस्थापन कोर्स समावेश गरेको थियो ।

सिंगापुर र बेलायतमा यसप्रकारको पाठ्यक्रम शुरु गरिएपछि सुधार आएको थियो । नियम कानुन त छँदैछ । केही वर्षयता थाइल्याण्डमा सडक दुर्घटना कम गराउन चालकलाई अमिलो पिरो मिसाइएको चकलेट प्रयोगमा ल्याइएको छ । काम गर्नु भनेको पहाड सम्याउनु होइन । साँचो अर्थमा काम भनेको सहयात्रा हो । टोले नेता, झोले नेताको उत्पादनले त एउटै नारामात्र फस्टाउँछ । त्यो हो- जसले खायो उधारो, उसले जीवन सुधार्‍यो ।

सुन्दर भएर के गर्नु, देश दुर्गतिमा फस्यो भने के हुन्छ ? त्यसको प्रत्यक्ष उदाहरण हो- रुस । त्यहाँका मुसलमान कुरानविपरीत रक्सी खुब खान्छन् । उनीहरुको तर्क छ-  कुरानमा रक्सी खान वर्जित छ तर भोडका वर्जित छैन । कस्तो अचम्म त्यहाँ दैनिक २० हजारका दरले जनसंख्या घट्दो छ । यसको प्रमुख कारण मदिरापान, महँगी, पारिवारिक विखण्डन र सामाजिक असुरक्षा हो । साहित्यकार आन्तोन चेखव भन्छन्- साइवेरिया वनको आदि र अन्त्य चरालाई बाहेक अरुलाई थाहा छैन । जंगली भूमी भारतभन्दा ठूलो छ । तर त्यहीँका २० प्रतिशत जनताको दैनिक आय एक कप कफी किनेर खान सक्ने छैन ।

हाम्रो देश उत्पादित होइन, जबर्जस्ती बनाइएको समस्याबाट ग्रसित बन्यो । नेपाली नागरिकताका आडमा सडक, सरकार, सदनसम्म एजेन्टहरुको फैलावट भयो । यसो हुँदा कर्कलो आकारको देशमा बन्चरो चलाउनेहरू धेरै भए । जनतालाई क्रान्तिको होमवर्क दिँदै आफू लुट्न पल्केकाहरू ‘स्वच्छ छवि’को भाषण दिन थाले । तपाईं नै भन्नुस् न मूसाको अधिकारको दस्तावेज बिरालालाई लेख्न लगाइयो भने मूसो कति सुरक्षित होला ?

प्रतिक्रिया