माया, प्रेम र बिछोडभन्दा भिन्न चलचित्र ‘श्री’

काठमाडौँ । कोभिड-१९ महामारीका कारण लकडाउन गर्ने घोषणा सरकारले गरेको छ । युवा व्यवसायी मानव क्षेत्री दङ्ग छ । आफूले सञ्चालन गरेको नगरकोटको रिसोटमा गएर प्रेमिकासँग ‘आइसोलेट’ हुने उसको योजना छ ।

यसैलाई मूर्त रूप दिन हतार-हतार ५० हजार पारिश्रमिक लिएर एक कार्यक्रममा आफ्नो विचार राख्छ । र हतारमै चलचित्र निर्माण सामाग्रीको व्यवसाय सञ्चालन गरिएको अफिस पुग्छ । साझेदारीमा सञ्चालित यो व्यवसायमा उसलाई ‘स्लिपिंग’ पाटनरको उपाधि दिइएको हुन्छ । यहाँका सम्पूर्ण कर्मचारीलाई बिदा दिने योजना उसले सुनाउँछ । ऊसंग असन्तुष्ट अन्य सञ्चालक रिसाएर निस्किन्छन् ।

ऊ पनि ३ कर्मचारीलाई घर जान तयार बनाउँछ । ४ महिना यता बिना तलब काम गरिरहेका कर्मचारीले खर्च माग्दा उसमा पल–पल देखिने ‘लुच्चोपन’ देखाउँदै हात भरी पैसाको मुठो निकालेर ४ हजार थमाउँछ । कर्मचारीलाई गाडी चढ्न आफ्नै ड्राइभरलाई अह्राएर ऊ भने नायिका प्रेमिका काव्यासँग व्यस्त हुन्छ ।

ट्वाइलेटमा बसेर बोलिरहेको ऊ गफमा भुलेको बेला ढोका बन्द गरेर ‘चेन गेट’मा चाबी लगाएर तीन कर्मचारी निस्किन्छन् । गफ सकियो, अनि उसले गर्दै गरेको कर्म पनि । आची धुन पानी खोल्दा पानी नै छैन । पैसा मोहको पराकास्ट, उसले त पानीसमेत काट्न भनेको हुन्छ । बिस्तारै आएर मिनिरल वाटरले सफा गरेर निस्किन्छ । केही समयमा ड्राइभर आउँछ, चाबी लगाएको देखेर गाडी लिएर फर्किन्छ ।

यता सम्बन्ध विच्छेदको अन्तिम तयारीमा रहेकी उसकी श्रीमती छोरी लिएर लकडाउनमा इलाम जान्छे । उसको व्यवहारले आजित आमा एक्लोपन मेटाउन केही समय अघि नै वृद्धाश्रम गएकी छन् । प्रेमिका मक्ख छ, नगरकोट जान । तर कुर्दा-कुर्दा दिक्क उसले पनि नयाँ प्रेमी खोज्छे । पल-पल अफ आएको फोनले उसले आफूमाथि धोका भएको सम्झिन्छे ।

यता निस्किन नसक्ने गरी मानव थुनिएको छ । सोही मानव जो पैसाको लागि जे पनि गर्न तयार थियो, जति पनि गिर्न तयार थियो, अवस्था नाजुक छ । न खानेकुरा छ, न त पानी नै । उसलाई धेर थोर सहयोग एक पागल माग्नेले गरेको छ । पहिला पटक-पटक गाली खाने उक्त माग्ने (भोलाराज सापकोटा)को भूमिका र अभिनय अब्बल छ ।

थुनिएको मानवको मनस्थिति र स्थिति थाहा पाउन भने चलचित्र नै हेर्नु पर्ने हुन्छ । चलचित्रको कथा कता-कता हार्दिक मेहेताको लेखन तथा विक्रमादित्य मोत्वानेको निर्देशनमा राजकुमार राव अभिनीत भारतीय चलचित्र ‘ट्रयाप्ड’सँग नजिक रहेको झैँ लाग्छ ।

एभरेस्ट सूर्य बोहराले नेपाली चलचित्रमा केही फरक प्रयास भने गरेका छन् । माया, प्रेम, बिछोड र ४-५ वटा गीत प्रयोग गरिएका चलचित्र, कमेडी नै कमेडी भरिएका चलचित्र भन्दा यो केही भिन्न छ ।

तर समस्या नेपाली मेकर्सको सोचमा नै छ, यो चलचित्रको विषयलाईसमेत पैसासँग जोडेर बनाइएको छ । चलचित्र दुई कलाकार मानव र माग्ने मात्रै राखेर देखाउन सकिनेमा अनावश्यक स्थानमा पटक-पटक अन्य कलाकार र सिनलाई देखाइएको छ । त्यस्तै लामो समय एकै ठाउँमा बस्दा पनि न त सोफा अस्तव्यस्त देखिएको छ न बाहिर राखिएको टेबुलमा धुलो जमेको छ ।

हास्य कलाकारको रूपमा परिचित सन्दीप क्षेत्रीको भूमिका यो चलचित्रमा अलग छ । तर कहीँ कतै उनको पुरानै छाप पनि देखिन्छ । चलचित्रको सुरुवाती चरणमा देखिने उनको संवादमा पुरानै सन्दीपलाई पाइन्छ । तर उनको अनुहारमा आएको परिवर्तन, कपडाको घट्दो क्रम देखि ट्वाइलेटको पानी खादाको क्षण लगायतको अभिनय गज्जब छ ।

यता भोला राजको अभिनय र पात्रको प्रशंसा नगरी सकिँदैन । उनको बाहिरी आवरणमा यति सम्म ध्यान दिइएको छ की खुट्टामा देखिने कालो ‘मयल’ यसको प्रमाण हो ।

यदि चलचित्रको अन्त्यको क्षण वेवास्ता गर्ने हो र सन्दीपको अभिनय र सिनमा मात्रै ध्यान दिने हो भने चलचित्र राम्रो छ । छोटो भूमिकामा देखिएका राजाराम पौडेलको अभिनय बनावटी लाग्दैन । एक मात्रै गीत प्रयोग गरेर चलचित्रलाई भिन्न बनाउने प्रयास राम्रो देखिन्छ । वर्षालाई प्रयोग गरी उठाइएको मुद्दा सही भएपनि चलचित्रमा अनावश्यक रूपमा नयाँ विषय घुसाएको अनुभूति भने हुन्छ ।

साइकलमा भेटिएको व्यक्ति डाक्टर हुनु, आमालाई फर्काउँछु भन्नु, बुद्धि तामाङ, रवीन्द्र झा लगायतका कामदार दौडिँदै सन्दिपलाई बचाउन फर्किनु, उनीहरूलाई पैसा दिनु मात्रै नभएर आफैले बोरा उचालेर ल्याउनु लगायतका दृश्य अनावश्यक बनावटी लाग्छन् ।

समग्रमा केही फरक चलचित्रको अपेक्षा गर्नु भएको छ, हल छिर्ने हुटहुटीले सताएको छ साथै सन्दीपलाई एक सच्चा कलाकारको रूपमा हेर्न चाहनुहुन्छ भने (भोलाले त आफ्नो भूमिकालाई न्याय गर्दै आएका छन्) चलचित्र हेर्ने योजना बनाउन सक्नु हुन्छ ।

चलचित्र : श्री
निर्देशन/कथा : एभरेस्ट सूर्य बोहरा
स्क्रिप्ट : एभरेस्ट सूर्य बोहरा, शिवम अधिकारी
कलाकार : सन्दीप क्षेत्री, भोलाराज सापकोटा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, सबिता गुरुङ, राजाराम पौडेल, रवीन्द्र झा आदी ।

प्रतिक्रिया