जिप दुर्घटनामा एकै गाउँका चार जनाको मृत्यु

काठमाडौँ । दोलखाको बिगु गाउँपालिकामा जिप दुर्घटाना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।

वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार राती करिब ११ बजेतिर गाउँपालिका-४, सिँगटी नजिकै सडकबाट खसेको हो । दुर्घटनामा परी बिगु-३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्को मृत्यु भएको हो ।

मृतक सबै एकै गाउँका रहेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार दुर्घटनाका घाइतेहरुको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

उनीहरू सबै तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् । क्षमताभन्दा बढी यात्रु बोकेको जिपले घुम्ती काट्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया