आठ महिनामा व्यापार घाटा ८ खर्ब ६३ अर्ब

काठमाडाैं । आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ६३ अर्ब २१ करोड पुगेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकले निकालेकाे प्रतिवेदन अनुसार याे अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.०२ प्रतिशत छ । त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले र अमेरिकी डलरमा ५.० प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ६८ अर्बले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ ।

त्यस्तै, संघीय सरकारको खर्च ५७१ अर्ब २ करोड र राजस्व परिचालन ५ खर्ब ७१ अर्ब २० करोड छ । विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दाबी १७.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८.९ प्रतिशत छ ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू वर्षको ८ महिनाको समीक्षा प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएकाे छ ।

रिपोर्टका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।

आयात

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजालगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

यस्ताे छ ८ महिनाकाे समीक्षा विवरण:

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977070621″ /]

प्रतिक्रिया