हिमालय क्षेत्रमा बढेको आगलागीले किन चिन्तित छन् वैज्ञानिक ?

एजेन्सी । नैनीताल पछाडिपट्टी देखिने हराभरा पहाडले भारत उत्तराखण्डको नैनीताल शहरलाई अझै सुन्दर बनाउने गरेकाे छ । तर, पछिल्ला केही दिनयता जंगलमा भइरहेको आगलागीको धुवाँले ताल वरिपरीको पहाडलाई नै छोपिदिएको छ । अब तालको त्यो सुन्दरता नै हराएको छ ।

‘म तालको जतापट्टी रहन्छु, त्यहाँबाट धुवाँको गन्धमात्र सुँघ्न सक्छु,’ यस क्षेत्रका जंगलबारे जानकार इतिहासका विशेषज्ञ प्राध्यापक शेखर पाठक भन्छन्, ‘धेरै छिटो आगो टिप्न सक्ने सल्लाको रुखमात्रै होइन, अन्य रुख बिरुवा पनि जलिरहेका छन् । यसको मतलब हालत धेरै गम्भीर भएको छ ।’

जंगलको आगोबाट सबैभन्दा ज्यादा प्रभावित इलाकामा रहने व्यक्ति राति सुत्नसमेत नसकिरहेको बताउँछन् । ‘हामी आधा रातमा उठेर घर वरपरको जंगलमा गएर हेर्ने गरेका छौं, आगो घरतिर आउँदैछ कि भनेर,’ पिथौरागढ जिल्लाको बन्ना गाउँका केदार अवनी भन्छन्, ‘यो आगलागी निभाउने हामीसँग कुनै उपाय नै छैन ।’

जंगलमा भएका आगलागीका घटना
युरोपेली संघ(इयू)को कपर्निकस एटमोस्फेरिक मनिटरिङ सर्भिस(सीएएमएस)का अनुसार गएको एक महिनामा उत्तराखण्डको जंगलमा लागेको आगालागीबाट ०.२ मेगाटन कार्वन उत्सर्जन भएको छ । यो सन् २००३ पछिको सबैभन्दा ज्यादा हो ।

एजेन्सीले स्याटेलाइटबाट लिएको तस्बिरलाई विश्लेषण गर्दा यही दौरान नेपालमा १८ मेगाटन कार्वन उत्सर्जन भएको छ । यो सन् २०१६ पछिको सबैभन्दा बढी हो । उक्त साल २७ मेगाटन कार्वन उत्सर्जन भएको थियो ।

‘उक्त तथ्यांकले यो क्षेत्रमा आगो कुन तीव्रताका साथ फैलिरहेको छ भन्ने देखाउँछ,’ सीएएमएसका शीर्ष वैज्ञानिक मार्क पैरिंगटन भन्छन्, ‘यो चिन्ताजनक कुरा हो ।’

नेपाल तथा उत्तराखण्डका जंगलमा भएको आगलागीबाट हालसम्म २० जनाको मृत्यु भइसकेको खबर छ । लाखौं हेक्टर जंगल जलेर खरानी भएको अनुमान गरिएको छ । यद्यपी, आधिकारीक तथ्यांक अहिलेसम्म आउन सकेको छैन । गत महिना एकै समय नेपालमा ५ सयभन्दा बढी ठाउँका जंगलमा आगलागी भएको थियो । विगत कयौं दिनदेखि नेपालको वायुको गुणस्तरसमेत खराब भएको छ ।

नेपालका कयौं राष्ट्रिय उद्यान तथा जंगल भारतका उद्यान तथा जंगलसँगै जोडिएका छन् । यसको मतलब नेपालबाट भारतमा र भारतबाट नेपालमा आगो फैलिन सक्छ ।

लामो खडेरी
विगत कयौं महिनादेखि नेपाल तथा उत्तर भारतीय क्षेत्रमा वर्षा हुन सकेको छैन । यसका कारण जंगल सुख्खा भएको छ ।
‘कयौं महिनादेखि न वर्षा भएको छ, न त हिउँ नै परेको छ,’ शेखर पाठक भन्छन्, ‘यही कारण नजल्ने प्रजातिका रुखसमेत सुख्खापनका कारण जल्न थालेका छन् ।’

चिन्ताको अर्को विषय के पनि हो भने जंगलमा सबैभन्दा बढी आगलागी मे (वैशाख–जेठ) महिनामा हुने गरेको छ । तर, उक्त महिना आउन अझै बाँकी नै छ । उक्त समयमा जंगलको आगलागीले अझ भयावह रुप लिन पनि सक्छ ।

वैज्ञानिक भन्छन्‚ ‘यस क्षेत्रमा भएको आगलागीका कारण जलवायु परिवर्तन हो भनेर सिधै भन्न नसके पनि यो क्षेत्रमा जुन प्रकारको सुख्खापन देखिएको छ, यो जलवायु परिवर्तनकै कारण भएको हो ।’

नेपाल तथा भारतीय अधिकारीका अनुसार कयौं ठाउँका जंगलमा फैलिएको आगोले सँगै रहेका खेतका बालिनालीमा पनि नोक्सान पुर्‍याएका छन् ।

तर, विशेषज्ञ भन्छन्, ‘यो समस्या केबल मौसम तथा बालीनालीमा आगो लाग्ने विषयमा मात्रै सीमित छैन ।’

भारत छत्तिसगढमा रहेको अक्सफामसँग सम्बन्धित एक संस्थामा कार्यरत प्राकृतिक संशाधन प्रबन्धन विशेषज्ञ विजेन्द्र अजनवी भन्छन्, ‘जंगलको काम कार्बनलाई अक्सिजनमा बदल्नुमात्र हो भन्ने सोच सरकारका नीति निर्मातामा छ । तर, जंगलमा आगो पनि लाग्न सक्छ र त्यसबाट कार्वनमात्रै उत्सर्जन हुन पनि सक्छ भन्ने कुरा भुल्ने गर्दछन् । भारतमा जंगलमा लागेको आगलागी प्राथमिकताको मुद्दा बन्दैन । संसदमा पनि यसको चर्चा हुँदैन ।’

वन डढेलाे विपद् हाेइन ?

भारतको राष्ट्रिय विपद् प्रबन्धन प्राविधीकरण (एनडीएमए)ले जंगलको आगलागीलाई प्राकृतिक विपद् मानेको छैन । उसले आफ्नो वेबसाइटमा चक्रबात, सुनामी, हिटवेब, पहिरो, बाढी तथा भूकम्पलाई मात्रै प्राकृतिक विपद्का रुपमा राखेको छ ।

२०१९ मा फरेस्ट सर्वे अफ इन्डियाको विश्लेषणअनुसार देशको ३६ प्रतिशत जंगलमा आगोको खतरा छ । यसमध्ये एकतिहाइमा यो खतरा धेरै रहेको छ ।

एनडीएमएका सदस्य कृष्ण वत्स भन्छन्, ‘भारतमा जंगलको आगलागीलाई प्राकृति विपद्को सूचीमा राखिएको छैन किनकी भारमा जंगलको अधिकतम आगलागी जानीबुझी कृषिसँग सम्बन्धित कारणले लगाइन्छ । यो एक मानवनिर्मित खतराको रुपमा रहेको छ । तर, जंगलको आगलागी एक गम्भीर खतरा बनिरहेको कुरालाई म स्वीकार गर्दछु । यही कारण सबै प्रान्तका वन विभाग तथा अन्य एजेन्सीसँगको समन्वय गरेर आगलागी निवारणका लागि काम गरिरहेका छौं ।’

स्ट्यान्डिङ फायर एडभाइजरी कमिटीको रिपोर्टअनुसार एनडीएमएले पहिले नै देशको अग्निनियन्त्रण सेवाको गम्भीर कमीलाई उजागर गरिसकेको छ । समितिले अफ्नो जाँचअनुसार देशमा अग्निनियन्त्रण दलमा समावेश ८० प्रतिशत बाहनमा कमजोरी रहेको देखाएको छ । जबकी देशमा अग्नि नियन्त्रणकर्मीको संख्या ९६ प्रतिशतले कम छ ।

भारतको अग्नीनियन्त्रक सेवा महानिर्देशनालयका वरिष्ठ अधिकारी तथा सल्लाहकार डीके धामी भन्छन्‚ ‘उक्त रिपोर्टपछि हामीले धेरै सुधार गरेका छौं । तर, अझै धेरै काम गर्न बाँकी रहेको पनि हामीलाई थाहा छ । पहिला हामीसँग ५५ हजार आगलागी नियन्त्रणकर्मी थिए । अहिले ७५ हजारभन्दा बढी छन् ।’

पहिलाभन्दा भारत सरकाले आग्नि नियन्त्रणकर्मीको बजेट बढोत्तरी गरेको छ । सरकारले यो सालदेखि २०२६ सम्मका लागि राज्यका लागि ५० अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो पहिलाको भन्दा ५ गुणाले बढी हो ।

तर विशेषज्ञ भन्छन्, ‘यसबाट वास्तवमा आगलागीसँग जुध्न खासै सहयोग भएको छैन ।’

कुमाउ जिल्लाका पर्यावरण कार्यकर्ता अनिरुद्ध जडेजा भन्छन्, ‘जंगलको आगालागी पहिलाभन्दा धेरै गम्भीर हुँदै गएको छ । तर, प्रशासनले कुनै तयारी गरेको देखिँदैन । हाम्रो जंगल धेरै ठूलो छ । वन विभागका कर्मचारीको संख्या धेरै कम छ । जब कुनै ठूलो आगलागी हुन्छ, त्यतिबेला कुनै खास काम गर्न सक्दैनन् ।’

नेपालका वन विशेषज्ञको भनाइ पनि यस्तै छ ।

नेपालको सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक भन्छिन्, ‘हामी सुन्छौं नेपालको वातावरणको नाममा विदेशबाट करोडौं डलरको सहयोग रकम आउने गरेको छ । तर जंगलको आगलागी निभाउन उक्त रकमबाट केही खर्च गरेको पाइँदैन । हाम्रो सामुदायिक वनको कामलाई विश्वभरबाट प्रशंसा प्राप्त भएको छ । तर जंगलमा भएको आगलागीले सारा काम खत्तम पारेको छ ।’

आगलागी निभाउन आफूहरूले सकेको काम गरिरहेको नेपालका अधिकारी बताउँछन् ।

नेपालको वन मन्त्रालयका प्रवक्ता प्रकाश लम्साल भन्छन्, ‘हामी आफ्नो सीमित स्रोतसाधनबाट सक्नेजति प्रयास गरिरहेका छौं । तर, आगो यस्तो इलाकामा लागिरहेको छ कि त्यहाँ जान नै हामीलाई गाह्रो परिरहेको छ । पहाडका चुचुराहरुमा आगो लागिरहेको छ । मानिसले जानिजानी आगो लगाउँदा धेरै गाह्रो परिरहेको छ । हामी सबैले देखेका छौं कि विकसित देशमा पनि जंगलको आगो निभाउन कति चुनौतीपूर्ण बनिरहेको छ ।’

विशेषज्ञ भन्छन्‚ ‘जंगलमा रहने समुदायका व्यक्तिले आगो निभाउन महत्पूर्ण भूमिका निर्वाह गर्न सक्छन् । तर, यस्तो हुन सकिरहेको छैन ।’

पाठक भन्छिन्, ‘जंगल क्षेत्रमा रहने व्यक्ति र वन विभागका बीच विश्वासको कमीले आगलागी नियन्त्रणमा सहयोग हुन सकेको छैन । जंगलमा बस्ने समुदायका व्यक्तिहरु जंगलमा बस्न पाउने उनीहरुको अधिकारको रक्षा गरियोस् भन्ने चाहन्छन् । यस कारण ती समुदायका व्यक्ति र वन अधिकारीकाबीच तनाव भइरहने गरेको छ । यही कारण उनीहरु आगलागी नियन्त्रणमा सहयोगी बन्न सकेका छैनन् ।’

वनका अन्य अधिकारीको भनाइ के छ भने कानुनअनुसार जंगलको रक्षा गरिएको छ । अजनबी भन्छन्‚ ‘प्रशासनले आमरुपमा जंगलको आगलागीका लागि स्थानीय समुदायलाई जिम्मेवार ठहर्‍याउने गरेको छ । तर, वास्तवमा उनीहरू जंगलमा बस्ने समुदायसँग मिलेर मात्रै आगलागी नियन्त्रण गर्न सक्थे ।’

(बीबीसी हिन्दीबाट)

प्रतिक्रिया