प्रदेश १ : कोभिडको त्रास, एक वर्षअघिकै अवस्थामा

विराटनगर । प्रदेशमा कोभिड १९ संक्रमितको संख्या बढ्दै जाँदा सरकारले कोभिड अस्पताललाई पुनः व्यवस्थित गरी तयारी अवस्थामा ल्याउने भएको छ । गएराती कोशी कोभिड अस्पतालमा एक संक्रमितको मृत्यु भएपछि प्रदेश सरकारले कोभिड अस्पतालाई तयारी अवस्थामा राख्नका लागि चाहिने सबै गृहकार्य थालेको हो ।

प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताइन् । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पतालमा रहेको कोभिड संक्रमितको उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताएकी छन् ।

सोमबार कोभिड- १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका लागि १८० बेड तयारी अवस्थामा रहेको जानकारी दिइन् । ‘आवश्यकताअनुसार जिल्लास्तरमा पनि कोभिड अस्पताललाई व्यवस्थित गरिनेछ,’ मन्त्री राईले भनिन्, ‘सीमा नाकामा आवश्यक सर्तकता अपनाउन निर्देशन दिइसकिएको छ ।’ उपचारका लागि कुनै समस्या हुन नदिनका लागि सबै व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको उनले बताइन् ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले संक्रमण दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिमा संक्रमण दर ह्वात्तै बढेको उनको भनाइ छ । कोरोना संक्रमण दर बढेसँगै अस्पताल, आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए ।

आवश्यकताअनुसार आइसोलेसनको व्यवस्थापनका लागि चाँडै प्रदेशस्तरीय सीसीएमसीको बैठक बसेर आपत्कालीन व्यवस्थापनको काम थालिने उनले सुनाए ।

सरकारले गतवर्ष जसरी तयारी गरेको थियो‚ यो वर्ष भने खासै तयारी देखिएको छैन । निरन्तर छलफल, रोकथामका उपाय तथा आवश्यक जनशक्ति व्यवस्थापनको पूर्वतयारी गरिएकोमा यो वर्ष भने खासै उल्लेख्य काम भएको देखिँदैन । कोशी कोभिड अस्पतालमा राखिएका कर्मचारी हटाइएको छ भने प्रदेश सरकारले बल्ल अस्पतालको निरीक्षण गरेर व्यवस्थित गर्ने प्रयास गरेको छ ।

प्रतिक्रिया