मन्त्रिपरिषद् बैठक बस्दै, सीसीएमसीको प्रस्तावमाथि छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सोमवार साँझका लागि सरकारी निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूले नियमित बैठक बोलाउनुभएको हो,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले मकालु खबरसँग भने, ‘बैठकमा समयसामयिक विभिन्न विषयमा छलफल हुने भन्ने छ ।’
एक मन्त्रीले बताएअनुसार बैठकमा खासगरी कोरोनाको नयाँ प्रजातिबारे छलफल हुनेछ । ‘संक्रमण बढिरहेको बेला यसको नियन्त्रणका लागि सरकारले कस्तो खाले कदम चाल्नुपर्छ भन्नेबारे नै खासगरी छलफल हुने हो,’ ती मन्त्रीले भने, ‘सँगै अन्य विषयहरु प्नि हुन्छन् । बैठकपछि थाहा भइहाल्छ ।’
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । तीन हप्ता स्कूल बन्द गर्नुपर्नेलगायतका प्रस्तावहरु भएको उक्त सिफारिमाथि नै खास रुपमा छलफल हुने बताइएको छ ।








