तत्काल विद्यालय बन्द नहुने, थप सतर्कता आवश्यक

काठमाडौँ । सरोकारवालाहरुले कोभिड-१९ संक्रमणको जोखिमलाई देखाएर तत्काल विद्यालय बन्द गर्न नहुने सुझाव दिएका छन् । विद्यालय बन्द गर्ने/नगर्नेबारे निर्णय लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको छलफलमा सहभागि सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।

मन्त्रालयले अहिले छलफलका लागि प्याब्सन, ऐन प्याब्सन, अभिभावक संघ, स्थानीय तहका प्रतिनिधिलाई बोलाएको थियो । सबैजसोले अहिले विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताएका थिए । विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने सहभागीहरुको सुझाव छ ।

सहभागिहरुले विद्यालय बन्द गर्न नहुने तर, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै वैकल्पिक सिकाइको सुनिश्चितता गर्न सुझाए । सुझाव आदान-प्रदान भएपनि कुनै निर्णय भने नभएको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए । मन्त्रालयले आयोजना गरेको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित हुँदा कुनै निर्णय हुन नसकेको हो ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले संक्रमणको दर बढ्दै गएको र विद्यालय उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएकोले विद्यालय केही दिन बन्द गरी अनलाइन कक्षा सञ्चालनका लागि प्रस्ताव गरिएको थियो । तर प्याब्सनले विज्ञप्ति निकालेर विद्यालय बन्द नगर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया