परमाणु केन्द्र आतङ्ककारीको निसानामा पर्‍यो

काठमाडौँ । इरानको एउटा परमाणु केन्द्र आतङ्ककारी कार्यको निसानामा परेको त्यहाँका परमाणुका एकजना उच्च अधिकारीले बताएका छन् । इरानले युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको भोलिपल्टै यस्तो हमला भएको हो ।

ती अधिकारीले उक्त कार्यमा कसको संलग्नता छ भन्ने बताएनन् । तर उनले अन्तर्राष्ट्रिय समुदायलाई परमाणु आतङ्कवादलाई सम्बोधन गर्न आह्वान गरे । इजरेली सञ्चारमाध्यमले चाहिँ उक्त घटना इजरेली साइबर हमलाको परिणाम भएको सङ्केत गरेका छन् । गत वर्ष पनि नाटान्ज भूमिगत परमाणु केन्द्रमा आगो लागेको थियो ।

त्यसलाई अधिकारीहरूले साइबर हमलाको परिणाम भनेका थिए । सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको हो । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए । तर अहिलेका राष्ट्रपति जो बाइडनले त्यसलाई पुनः अघि बढाउने पहल गरिरहेका छन् ।

शनिबार इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए । त्यो देशको युरेनियम संवर्द्धन कार्यक्रमको मुख्य क्षेत्र हो । युरेनियम संवर्द्धन गर्नका लागि सेन्ट्रिफ्यूजहरू आवश्यक पर्छन् । संवर्द्धित युरेनियमलाई उर्जा उत्पादनका लागि रियाक्टरका रूपमा र आणविक हतियार बनाउन पनि प्रयोग गरिन्छ ।

इरानले के भन्यो ?
एटोमिक इनर्जी अर्गनाइजेसन अफ इरान (एईओआई)का एकजना प्रवक्ता बेहरुज् कमालवन्दीले आइतवार बिहान एउटा घटना भएको बताए । उक्त घटना त्यस परमाणु क्षेत्रको उर्जा नेटवर्कसँग जोडिएको उनको भनाइ छ ।

उनले त्यसबारे थप जानकारी दिएनन् तर इरानको फार्स न्यूज एजेन्सीलाई त्यहाँ कसैको पनि मृत्यु नभएको र चुहावट पनि नभएको बताए । पछि सरकारी टेलिभिजनले एउटा वक्तव्य पढेको थियो । त्यसमा एईओआईका प्रमुख अली अकबर सालेहीले उक्त घटनालाई तोडफोड र परमाणु आतङ्कवाद भनेका छन् । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी ९आईएईए० ले उक्त घटनाबारे आफू जानकार रहेको तर त्यसबारे केही प्रतिक्रिया नदिने बताएको छ ।

इजरेलको भूमिका
इजरेली सार्वजनिक प्रसारक कानले उक्त घटना इजरेली साइबर हमला हुनसक्ने अनुमान गरिएको बताएको छ । उसले सन् २०१० को एउटा कम्प्युटर भाइरसको उदाहरण दिँदै त्यस्तो दाबी गरेको हो ।

त्यसबेला अमेरिका र इजरेल मिलेर उक्त भाइरस बनाएको विश्वास गरिएको थियो । त्यसलाई नाटान्जको सेन्ट्रिफ्यूज नष्ट गर्न प्रयोग गरिएको थियो । –बीबीसी

प्रतिक्रिया