व्यावसायिक घरानाको रुपमा उदाउँदै रमेश कर्प (भिडियाेसहित)

व्यापारबाट उद्योगतर्फ फड्काे मारेका  स्व. रमेश गुप्ताले भलाद्मी र जोखिम उठाउन सक्ने व्यवसायीको पहिचान बनाएका छन् । अमेरिका भ्रमणका क्रममा टाउकोमा ट्युमरदेखिएपछि उनको अपरेशन गरिएको थियो । नेपाल आएपछि उनी विरामी परे । नर्भिक अस्पतालमा भर्ना गरियो । दिल्ली लगियो । उपचार संभव भएन । क्यान्सरका कारण सन् २०१८ मा दिल्लीकै एक अस्पतालमा उनको  निधन भयो । ‍उनकाे निधनको २ वर्षपछि उनकाे व्यावसायिक विरासतलाई मलजल गरेर अघि बढाउन उनका छोराहरुले  रमेश कर्पोरेशन  स्थापना गरेका छन् । ‘फरवार्ड टुगेदर’ भन्ने ट्याग लाइनसहितको ‘रमेस कर्प’ नामको ब्राण्डमार्फत याे होल्डिङ कम्पनीले गुप्ताको व्यावसायिक यात्रालाई गति दिन लागेको हाे । यसबारेमा रमेश कर्पोरेशनका कार्यकारी निर्देशक प्रतिक जलानसँग हामीले कुराकानी गरेका छौं :


यहाँहरुले हालसालै रमेश कर्पोरेशन (रमेश कर्प) स्थापना गर्नु भएको छ । बुबाकै नामबाट कर्पाेरेशन खाेल्नुकाे कारण के हाे ? 
उहाँ भारतमा जन्मेपनि शिक्षादिक्षा लगायत सबै कुरा नेपालमै भएको हो । उहाँले टायरसम्बन्धी व्यवसायबाट आफ्नो व्यापारिक यात्रा सुरु गर्नुभएको थियो । एउटा सानो व्यापारिक कम्पनी स्थापना गरेर व्यापार सुरु गरेर पछि त्यसैलाई विस्तार गर्दै उद्योग व्यवसाय बिस्तार गर्नुभयाे । त्यसपछि उहाँ उद्योगतर्फ लाग्नुभयो र धेरैवटा उद्योग स्थापना गर्नुभयो । जैविक तेल, शिवम् शिमेन्ट, होङसी सिमेन्ट जस्ता उद्योग स्थापना गर्न महत्पूर्ण भूमिका निर्वाह गर्नुभयो । नेपालमा उद्योगसम्बन्धी धेरै काम उहाँले गर्नुभयो । पब्लिक कम्पनीमा पनि उत्कृष्ट नेृतत्व (चेयरमेन) का रुपमा रहनुभयो । निधन हुनुअघि उहाँ नेपाल लाइफको पनि अध्यक्ष हुनुहुन्थ्यो । सामाजिक काममा पनि उहाँ त्यतिकै सक्रिय हुनुहुन्थ्यो । जीवनभर नै उहाँले नेपालको आर्थिक–सामाजिक विकास तथा समृद्धिका लागि योगदान गर्नुभएको छ ।

उहाँ ‘नयाँ कामको प्रयास गर्न कहिल्यै नछोड (नेभर गिभ अप, अलवेज किप ट्राइङ टु डु न्यु थिङ)’ भन्नु हुन्थ्यो । त्यस्तै, समय कहिल्यै समान हुँदैन, समय सँधै अघि बढिरहेको हुन्छ । परिवर्तन भइरहेको हुन्छ । त्यसैअनुसार हामीले हाम्रा दृष्टिकोण र सोचहरु पनि परिवर्तन र परिमार्जन गर्दै जानुपर्छ भन्नुहुन्थ्यो । यो कुरा अहिले पनि सम्झनामा ताजै छ । उहाँकाे याे साेच र भिजन हाम्राेलागि सँधै मार्गदर्शक रह्याे, रहिरहेकाे छ । हामी उहाँकाे यहि लक्ष्य पूरा गर्न पनि उहाँकै  नाममा कम्पनी स्थापना गरेर अघि बढ्ने निष्कर्षमा पुगेका हाैं ।

रमेश गुप्ताले छोडेर गएको व्यावसायिक विरासतलाई जोगाउन र अझ मलजल गर्न यहाँहरुले स्थापना गर्नुभएकाे कर्पोरेशन अब के कुरामा केन्द्रीत भएर अघि बढ्छ ?

समयसँगै अघि बढ्नुपर्छ भन्ने स्वर्गीय गुप्ताको आदर्शलाई ध्यानमा राखेर हामी अघि बढ्छौं । सबैभन्दा ठूलो कुरा प्रविधि हो । विश्वमा विकसित प्रविधिलाई ज्यादाभन्दा ज्यादा हामीले हाम्रो कर्पोरेशनभित्रका उद्योगमा प्रयोग गर्ने, त्यस्ता प्रविधिबाट उच्चतम लाभ लिने, उद्योगहरुमा काम गर्ने कर्मचारीलाई कसरी बढीभन्दा प्रविधि मैत्री बनाएर अघि बढाउने र हाम्रा उत्पादनको गुणस्तर कसरी उत्कृष्ट बनाइ राख्ने भन्नेमा हामी केन्द्रित हुनेछौं । हामीसँग आवद्ध संघसंस्था तथा कर्मचारीलाई कसरी एकमुष्ट रुपमा अघि बढाउने भन्ने काममा पनि हामी केन्द्रित भइरहेका छौं ।

रमेश कर्पको छाताभित्र कुनकुन क्षेत्रका कतिवटा कम्पनी  छन् ?

अहिले रमेश कर्पभित्रका विभिन्न कम्पनीले १४ वटा क्षेत्रमा काम गरिरहेका छौं । उत्पादन, व्यापार, आइटी, स्पोर्टस्, इन्भेष्टमेन्टलगायत क्षेत्रमा हामी काम गरिरहेका छौं । सन् २०२१ भित्रै हामी अरु एक/दुई क्षेत्रलाई पनि समावेश गरेर ती क्षेत्रमा अघि बढ्ने तयारी गरिरहेका छौं ।

कर्पोरेशनभित्रका कम्पनीहरुमा कुल लगानी कति जति होला ? 
नेपालमा अहिलेसम्म प्राइभेट ग्रुप वा कर्पोरेशनको इन्टरप्राइज भ्यालु निकाल्ने चलन छैन । सेमि–प्रोफेशनल तरिकाले नै वनरअन्तर्गत नै यी विषयहरु रहने भएकोले लगानीको मुल्याङ्कन गरिएको छैन ।

यी कम्पनीले कति जनालाई रोजगारी दिएको छ ?
रमेश कर्पोरशनअन्तर्गतका कम्पनीहरुले नेपालमा २ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

नेपालको आर्थिक समृद्धिमा रमेश कर्पअन्तर्गतका उद्योगकाे याेगदान कस्ताे छ त ?
देशको आर्थिक विकासको कुरा गर्दा देश कत्तिको आत्मनिर्भर भइरहेको छ भन्ने कुरा हाे । विगतमा हामीले भारत तथा तेस्रो मुलुकबाट क्लिङकर आयात गरेर सिमेन्ट बनाउँथ्यौं । तर, अहिले सिमेन्टमा क्लिङकरसहित पूर्ण रुपमा आत्मनिर्भर भइसकेका छाैं । यसका लागि हाम्रो कम्पनीको योगदान छ । आइटीमा नयाँ नयाँ प्रविधि भित्र्याएका छौं । त्यस्तै, वित्तीय क्षेत्रमा आम मानिसको पहुँच विस्तार, बीमामा आम मानिसको पहुँच बढाएका छौं । हाम्रा कम्पनीले यसरी देशकाे सामाजिक र आर्थिक विकाशमा याेगदान गरेका छन् । अब याे याेगदान अझ बढ्दै जानेछ ।

आत्मनिर्भर अर्थतन्त्र विकास गर्न वा साँचो अर्थमा र दीगो आर्थिक विकास प्राप्त गर्न व्यापारभन्दा उत्पादनलाई बढी जोड दिनुपर्छ भन्ने गरिन्छ । कर्पोरेशन अब ब्यापारमा बढी केन्द्रीत हुन्छ कि उत्पादनमा ?
हेनुस्, व्यापार र उद्योग कुखुरा र अण्डा जस्तै हो । कुन पहिला भन्ने । उत्पादन नभई व्यापार हुँदैन । र, व्यापार नभए उत्पादनको अर्थ रहँदैन । त्यसो हुँदा उत्पादन र व्यापार सँगै अघि बढ्नुपर्छ । यसमा के हुन्छ भने जुन वस्तु वा सेवाको उत्पादन गर्न सक्ने सम्भावना नै छैन । लागतको हिसाबले पनि उत्पादन गर्नु किन्नु भन्दा बढी पर्न जान्छ भने उत्पादन गर्नुको कुनै अर्थ हुँदैन । ठूला मात्रामा उत्पादन गरेर हामीले मूल्य सिर्जना गर्न सकिन्छ र त्यसलाई आन्तरिक तथा बाह्य बजारमा पठाउन सक्छौं । ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सक्छौं भने उत्पादन गर्नुपर्छ । समृद्धि वा लाभको सम्भावना केमा छ भनेर अघि बढ्नुपर्छ ।

कर्पोरेशनअन्तर्गतका कम्पनी तथा उद्योगहरुको क्षमता विस्तार, संख्या विस्तार जस्ता विषयमा यहाँहरुको ठोस योजना के छ ?
जसरी हामीले देशलाई आत्मनिर्भर बनाउने विषयमा कुरा गर्याैं । हाम्रो कम्पनी मूख्य रुपमा त्यतातिरै अघि बढ्छ । यसका लागि हामीले तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएका छौं । त्यो योजना कार्यान्वयन गर्दै चरणबद्ध रुपमा अघि बढ्छौं ।

अन्तर्राष्ट्रिय बजारकाे सम्भावना पहिल्याउँदै अन्तर्राष्ट्रिय बजारमा छिर्ने योजना पनि बनाउनु भएको छ कि ?
अन्तर्राष्ट्रिय बजारमा छिर्ने दुईवटा तरिका छन् । एउटा प्रत्यक्ष वैदेशिक लगानी र अर्को निर्यात व्यापार । अहिले अर्थमन्त्रालयले नेपाली लगानीकर्ताले पनि अन्तराष्ट्रिय क्षेत्रमा प्रत्यक्ष वैदेशीक लगानी गरेर अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सकुन् भनेर काम गरिरहेको हामीले पाएका छौं । नेपाली लगानीकर्ताले जति सक्छन् विदेशमा पनि लगानी गर्ने वातावरण बन्छ भन्ने आशा छ । त्यस्तै, निर्यातका लागि हामी असाध्यै सम्भावनायुक्त ठाउँमा छौं । झण्डै २ सय ५० करोड जनसंख्याको विचमा हामी रहेकोले छिमेकी दुई देशको बजारलाई नै हामीले समाउन सक्यौं भने निकै ठूलो लाभ प्राप्त गर्न सकिने सम्भावना छ । यतातर्फ पनि हामीले सोचिरहेका छौं ।

कर्पोरेशनको भावी लक्ष्य र योजना के छ ?
हामीसँग आवद्ध कम्पनी तथा उद्योगको विकास तथा सहयोगमा हामीले मूख्य ध्यान दिने योजना बनाएका छौं । कर्मचारी तथा सफलाई सहयोग गर्दै अघि बढ्ने लक्ष्य छ । अघिपनि मैले भनें कि अल्पकालिन मध्यकालिन र दीर्घकालिन याेजना बनाएर अघि बढेकाले हाम्रा याेजनाले हामीलाई लक्ष्यमा पुग्न सघाउने विश्वास लिएका छाैं ।

स्वर्गीय रमेश गुप्ताको सम्झनामा यहाँहरुले रमेश गुप्ता मेमोरियल ट्रस्ट पनि स्थापना गर्नुभएको छ । याे ट्रष्टले चाहि के काम गर्छ ?
यसमार्फत हामीले समाजसेवा र सहयाेगकाे कामलाई अघि बढाइरहेका  छाैं । यो ट्रष्टले क्यान्सरसम्बन्धी कुनै रोग लागेका १५ वर्षमुनिका बालबालिकालाई उपचार तथा आर्थिक सहयोग प्रदान गर्छ। कान्ति बाल अस्पताल तथा अन्य कुनै पनि अस्पतालमा उपचारका लागि हामीले सहयोग गर्ने गरेका छौं । यो काम शुरु भइसकेकाे छ । अहिलेसम्म १९ जना बालबालिकाको उपचार र आर्थिक सहयोगको जिम्मा हामीले लिएका छौं । यी मध्ये २ जना बालबालिका उपचारपछि निको भएर घर फर्किसक्नुभएको छ । क्यान्सर भएका बालबालिकालाई उत्कृष्ट जीवन निर्वाहमा सघाउनुलाई नै हामीले मुख्य काम बनाएका छौं । त्यसैले हामी यसैमा केन्द्रित भएर अघि बढ्छौं ।

नेपाल सरकारले तोकेको न्युनतम आयको सीमाभन्दा कम वा गरिबीको रेखामुनि रहेका परिवारका बालकालिकालाई प्राथमिकता दिएर छनोट गर्छौं । त्यस्तै ती बालबालिका लागि लागेको क्यान्सर कुन प्रकारको हो र कसरी उपचार गर्न सकिन्छ भनेर अस्पतालले गर्ने सिफारिससमेतका आधारमा हामीले उपचारका लागि बालकालिकाको जिम्मा लिने गरेका छौं ।

प्रतिक्रिया