बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

लिगको तेस्रो स्थानमा रहेको घरेलु टिम रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेसँगै तेस्रो स्थानमा उक्लिएको हो । पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको रियल मड्रिडले बार्सिलोनाविरुद्ध जित निकाल्यो । खेलको १३ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै बार्सिलोनाविरुद्ध रियल मड्रिडलाई १-० गोलको अग्रता दिलाए । खेलको २८ औं मिनेटमा टोनी क्रुसले गोल गरेपछि रियलले सुरुवातमै २-० गोलको अग्रता बनाएको थियो ।

पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको रियल मड्रिडविरुद्ध बार्सिलोनाले दोस्रो हाफमा एक गोल फर्काएपनि हार टार्न सकेन । खेलको ६० औं मिनेटमा ओस्कार मिनगुएजले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको स्थितिमा ल्याए । तर बाँकी समयमा गोल गर्न नसक्दा बार्सिलोनाले रियलविरुद्ध खेल हार्न पुग्यो । यता, रियल खेलको ९० औं मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो । कासिमिरोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितपछि रियलले एथ्लेटिको मड्रिडलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियल ३० खेलबाट ६६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको पनि ६६ अंक नै भएपनि लिगको दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने लिगको तेस्रो स्थानमा छ । बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ ।

प्रतिक्रिया