प्रधानमन्त्रीको प्रश्न– देशमा तीव्र विकास भएकोले सरकार फेर्नुपर्ने ?(भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरे ।

भूकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुनःनिर्माण अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दाबी गरे । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’ को संज्ञा दिए । उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’ नै आफूले फ्याकिदिने चेतावनी दिए । उनले भने– ‘सरकार परिर्वतनका प्रयासहरु भइरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरुलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्यो ? पुनः निर्माणका काम अघि बढीरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी सिलान्याश गर्यौँ, धमाधम बन्दैछन् । त्यसकारणले हो ? १ सय ६५ वटा बाटाहरु एकैपटक सिलान्याश गर्यौँ र बन्दैछन् । त्यसकारणले हो ? एकहप्ताभित्र देशभित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौँ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरु । यो त लखनउको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।”

मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दे उनले आफूले त्यस्तो हुन नदिने दाबी गरे । राजनीतिमा देखिएका सकुनीहरुले संसद्को अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजेको उल्लेख गर्दे सकुनीका गोटी नै फ्याँक्न आफू एक्कै पर्याप्त भएको दाबीसमेत गरे ।
‘अस्थिरता ल्याउन खोज्ने तत्वहरु, संसदीय अंकगणितलाई गलत प्रयोजनका लागि पुर्याउने प्रयासहरु, अस्थिरताका लागि अंकगणितको दुरुपयोग गर्न खोज्ने प्रयासहरु विल्कुलै सकारात्मक होइनन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘देश हितमा छैनन् । विकासको पक्षमा छैनन् । शान्तिको पक्षमा छैनन् । के भएको थियो ? केही भएको थियो र ? सरकार विकासका काममा लागिरहेको थियो । लागिरहेको छ । कहिले तमासा गरेका छन् । तपाईँहरु आफ्ना उद्योगमा लाग्नुहोस् । यी कुराहरुलाई त मै ठेगान लगाइहाल्छु । तपाईँहरु आफ्नो काममा लाग्नुहोस् । मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन । पहिले पनि म सरकारबाट हटाइएको हुँ । फेरि जनताले ल्याए । केही छैन १८/२० महिना होला । त्यसपछि फेरि यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याँकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?’

पाण्डव र रामको दृष्टान्त दिँदै उनले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफू फेरि पनि सत्ताको नेतृत्वमा आइपुग्ने दाबी गरे । समृद्ध नेपाल निर्माणको उद्देश्यसाथ अघि बढेका र सीसीमा औषधि बेच्नेबिचको भेद खुट्याउनुपर्ने भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यंग्यसमेत गरे । ‘जबसम्म राजनीति परिपक्क हुँदैन, तबसम्म मान्छेले सही र गलत छुट्याउँदैन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जबसम्म देश र व्यक्तिगत स्वार्थबिचको अन्तर छुट्याउन सक्क्तैन आम जनताले तबसम्म यस्ता समस्याहरु देखा पर्छन ।’

यस्तै छुट्टै प्रसंगमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको बताउँदै पूर्वसावधानी अपनाउन आग्रह गरेका छन् । सचेतता अपनाइए पनि फेरि पनि लकडानमा जानुपर्ने हुनसक्ने भन्दै उनले पर्याप्त सावधान रहेर अनुशासित बन्न आग्रह गरे । प्रधानमन्त्री ओलीले भने– ‘लकडाउन गर्नै हुँदैन भन्ने देशहरु दोहोर्याएर तेहर्याएर लकडाउनमा जाँदैछन् । हामीले पनि समयमै सचेतता अपनाएनौँ भने सावधानी अपनाएनौँ भने भने फेरि हामी लकडाउनमा पुग्दैनौँ भन्ने कुनै ग्यारेण्टी हुँदैन । हामी आफैँ घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा हुन्छौँ । किनभने ज्यान खतरामा हुन्छ ।’

प्रतिक्रिया