विद्युत्का कारण समस्याग्रस्त कटहरी करिडोरका उद्योग, समाधानमा दोहोरो छलफल

  • समन सुस्केरा

विराटनगर । मोरङको कटहरी करिडोरका उद्योग–व्यवसायहरुले निरन्तर भोग्दै आएको विद्युत् समस्या समाधानमा व्यवसायीहरुले पहल थालेका छन् । उद्योग संगठन मोरङको समन्वयमा कटहरी क्षेत्रका उद्योगी–व्यवसायीहरुसहित नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रतिनिधिहरुबिच समस्या समाधान गर्ने उपायको बारेमा छलफल भएको हो ।
विद्युत् सप्लाईमा आइरहने समस्याका कारण कटहरी क्षेत्रका उद्योग/व्यवसायहरुको उत्पादन तथा गुणस्तरमा ह्रास आउनुका साथै कच्चा पदार्थ समेत खेर गइ ठूलो आर्थिक क्षति भएको व्यवसायीको गुनासो छ ।

उद्योग संगठन मोरङका ऊर्जा हेर्ने संयोजक नन्दकिशोर राठीले बिनासूचना विद्युत् कटौती गर्ने, बारम्बार ट्रिपिङ्ग हुने, विद्युत् सप्लाई भएको समयमा लो भोल्टेज आउने जस्ता समस्याले कटहरी क्षेत्रका उद्योगहरु प्रताडित भएको बताए । उद्योगी राठीले समस्या समाधानका लागि उद्योगीसँगको सहकार्यमा १ पटक सटडाउन लिइ त्यसपश्चात् समस्या आउन नदिने वातावरण मिलाउन आग्रह गरे । प्राधिकरणले सटडाउन लिदा ३ दिनको पूर्वसूचना दिइ शनिवार सटडाउन लिने, उद्योगहरुले भोगेका समस्या पहिचान र समाधानका लागि प्राधिकरणका प्रतिनिधिहरुले त्यस क्षेत्रका उद्योगको भ्रमण गर्ने बारेमा पनि छलफल भएको छ ।

विद्युत् प्राधिकरण आफनो संयन्त्रमा प्रभावकारी समन्वय नभएको उद्योगीको आरोप छ । उद्योगीेले निरन्तर विद्युत् सप्लाई गर्नुपर्ने र सामान्य हावाहुरी आउँदा पनि हुने समस्यालाई तत्काल समाधान गर्न प्राधिकरणलाई आग्रह गरिएको संयोजक राठीको भनाइ छ ।
व्यवसायीका समस्यालाई ध्यानमा राखेर कटहरी क्षेत्रमा सप्लाई हुने विद्युत्को गुणस्तर सुधार गरी निरन्तर विद्युत् सप्लाई गर्न संगठनका अध्यक्ष सुयेश प्याकुरेलले सुझाव दिए । ‘हामीले पटक पटक विद्युत प्राधिकरणलाई आग्रह गरेका थियौँ, समस्या समाधान नभएपछि दीर्घकालीन समस्या समाधानको लागि पहल थालिएको हो,’ उनले भने, ‘तत्काल समस्या समाधानका लागि केही काम प्राधिकरणले गर्नुपर्ने देखिएको छ भने समन्वयको काम संगठनले गर्नेछ ।’

विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश गोहिवारले पूर्वाधार निर्माण, लोड व्यवस्थानका जस्ता कारणले कटहरी क्षेत्रको विद्युत् सप्लाईमा समस्या आएको बताए । ‘अहिलेको समस्या केही दिनभित्रै समाधान गर्दै जान्छु’, उनले भने – विद्युत् कटौती भएको जानकारी उद्योगी व्यवसायीले प्राधिकरणलाई तत्काल दिन जरुरी छ ।

छलफलमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष बिपिन कावरा, कार्यसमिति सदस्य सुनिल धनावत, प्रतिभा रिजाल ओली, नेपाल विद्युत् प्राधिकरण प्रतिनिधिहरुका साथै कटहरी क्षेत्रका उद्योगी व्यवसायी सहभागी थिए ।

प्रतिक्रिया