केही दिनमै नयाँ सरकार आउँछ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनमै नयाँ सरकार आउने दाबी गरेका छन् । शनिबार निजामती कर्मचारी संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘केही दिनभित्रै कालो बादल हट्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यो प्रयास निरन्तर रुपमा अघि बढाइरहेका छौँ । केही दिनमै नयाँ सरकार आउँछ ।’

आफूहरु नयाँ सरकार गठनमा लागिपरेको पनि अध्यक्ष प्रचण्डले बताए । केपी शर्मा आली नेतृत्वको सरकार अब धेरै दिन नटिक्ने बताएका अध्यक्ष प्रचण्डले भने– ‘जे आधिकारिक, संवैधानिक हो त्यसलाई निमोठिएको छ । यहीँबाट सबै चिजमा निकै ठूलो अन्योल र सन्त्रास छ ।’

७० प्रतिशत पार्टीको संसदीय संख्याले गरेको निर्णय संविधान र ऐनअनुकूल भएको दाबी गर्दै सेटिङ्गमार्फत आधिकारिकतालाई सरकारले खारेज गरेको आरोप अध्यक्ष प्रचण्डको थियो । ‘संसदीय दलको बहुमतले हस्ताक्षर गरेर केपी ओलीलाई दलको नेताबाट हटाएको थियो,’ अध्यक्ष प्रचण्डले भने, ‘संसद् सचिवालयमा दर्ता गरिएको थियो। यो वैधानिक थियो । तर, सरकारले सेटिङ्गमार्फत आधिकारिकलाई खारेज गरिदियो । जे अवैधानिक र छलछाम छ त्यसलाई कायम गरिदियो ।’

प्रतिक्रिया