भारतले नेपाललाई अवरुद्ध खोप आपूर्ति सुचारु गर्ने

काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज (शुक्रबार) टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करबीच आज भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने कार्यमा निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ ।

वार्ताका क्रममा मन्त्री ज्ञवालीले अवरुद्ध खोप आपूर्ति सुचारु गर्न भारतलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । जवाफमा भारतीय विदेशमन्त्रीले नेपाललाई अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्ने कुरामा सहमति जनाएको उल्लेख छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाईंमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकोमा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रत्युत्तरमा बाह्यमामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिएका छन् ।

प्रतिक्रिया