दोस्रो चरणको खोपको आपूर्ति

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करबीच आज भएको टेलिफोन वार्तामा भारतले नेपाललाई अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्ने कुरामा सहमति जनाएको उल्लेख गरिएको छ ।

कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने कार्यमा निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छदुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरेका थिए । साथै उनले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो डोज खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका बाह्य मामिलामन्त्रीसँग अनुरोध गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रत्युत्तरमा बाह्यमामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिएका छन् ।

प्रतिक्रिया