शिवपुरी डाँडामा बन्दैछ पाँचतारे हेरिटेज होटल, आइपीओ खाेल्ने तयारी (भिडिओ)

काठमाडौं । कोभिड–१९ धेरैका लागि अभिशाप बन्यो, कतिपयका लागि भने अवसर । कोभिडकै बेला निर्माण सुरु भएर निर्माण पूरा हुने क्रममा रहेको बुढानीलकण्ठ हेरिटेज होटल केही महिनापछि सञ्चालनमा आउने तयारीमा छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बुढानीलकण्ठस्थित शिवपुरी डाँडामा निर्माण भइरहेको उक्त होटल काठमाडौंमा आउने पर्यटकका लागि मनोरञ्जनको नयाँ गन्तव्यको रुपमा उदाउँदै छ । साथै देशकै पर्यटन क्षेत्रको विकासमा एउटा गतिलो पूर्वाधार बन्नसक्ने देखिएको छ । यसै सन्दर्भमा बुढानीलकण्ठ हेरिटेज प्रालिका अध्यक्ष डा. राजेन्द्र केसीसँग हामीले कुराकानी गरेका छौं;

बुढानीलकण्ठ हेरिटेज होटल कहिलेबाट सञ्चालनमा आउँछ ?
हामीले २०२२ को जनवरीबाट यो होटल सञ्चालनमा ल्याउने तयारीका साथ भवनलगायत पूर्वाधार निर्माण गरिरहेका छौं । मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङ (एमईपी)का काम हामीले सकिसकेका छौं । निर्माणका काम सकिसकेका छौं । अब प्रि ओपनिङको चरणमा जान लागेका छौं । अहिले हामी इन्टेरियर डिजाइनको क्रममा छौं ।

होटलमा कति र कति जनाको लगानी छ ?
यो होटलमा १ अर्ब ७० करोड रुपैयाँ लगानी हुने अनुमान गरेका छौं । यसमा ९० करोड बैंकको ऋण छ । नेपाल बैंकको नेतृत्वमा एसबीआई बैंकसहित २ बैंकले यो परियोजनामा ऋण लगानी गरेका छन् । ७० करोड रुपैयाँ चाहिँ हामी ३१ जना प्रबर्धकले स्वपूँजी(इक्विटी) लगानी गरेका छौं।

कस्ता ग्राहकलाई लक्षित गर्नुभएकाे छ ?
आन्तरिक तथा बाह्य दुवै ग्राहकलाई हामीले लक्षित गरेका छौं । आइएनजीओ, एनजीओ, कुटनीतिक नियोगका व्यक्तिहरु हाम्रा ग्राहक हुन सक्छन् । यसमा पनि भारतीय र चिनियाँ ग्राहक बढी हुन सक्नुहुन्छ । त्यसपछि युरोपियन, अमेरिकन, जापानी हुन सक्छन् । जापानीका लागि ५ ओटा वेभ जापानी शैलीमा बनाउँदै छौं । एक वर्षसम्म पनि उनीहरुले नै बुक गरेर राख्न मिल्ने गरी बनाएका छौं ।

शिवपुरीको पौराणिकता र यहाँको भौगोलिकताले होटेलको व्यापारमा सहयोग गर्न सक्ला ?
नारायणगोपाल चोक चक्रपथबाट ५ किलोमिटरको दूरीमा यो होटल निर्माण भइरहेको छ । मानिसले अहिले सफा, स्वच्छ, एकान्त र कोलाहलरहित वातारणको खोजी गरिरहेको छ । खराब वातावरणबाट सके केही दिन र नसकै एकै दिन भए पनि मुक्त भएर बस्न हामीले चाहिरहेको देखेका छौं । त्यस्तो वातावरण खोज्दै नगरकोट, धुलिखेल, पोखरा जस्ता ठाउँमा मानिस गइरहेको देखेका छौं । काठमाडौं नजिक १५ मिनेटको सवारी दूरीमा पुग्न सकिने ठाउँमा मानिसलाई प्राकृतिक शान्ति प्राप्त हुने गन्तव्य तयार गरिदिएका छौं । त्यहाँबाट काठमाडौंको सम्पूर्ण सहर नियाल्न सक्छौं । पूर्व, पश्चिम र उत्तरमा शिवपुरी वनको हरियाली र शान्ति पाउन सकिन्छ । यो गन्तव्यबाट जंगल नै जंगल भएर ५ दिनको ट्रेकिङ रुट बनाउन सकिन्छ ।

तारेभिज, डाँडागाउँ हुँदै नुवाकोटसम्म पुग्न सकिने रुट बनाउन सकिने हामीले देखेका छौं । त्यस्तै, विश्व सम्पदा सूचीमा सूचीकृत भएको बुढानिलकण्ठ मन्दिर छ । बागद्वार छ । बौद्धमार्गीका लागि आनी गुम्बा छ । ठूलो क्रिकेट हल पनि त्यहाँ बनिररहेको छ । शिवको तपोभूमिको रुपमा पौराणिक ग्रन्थमा उल्लेख भएको ठाउँ हो । त्यसो हुँदा यो ठाउँको भौगोलिक अवस्थितिले यो होटेलको सेवा र सुविधा नितान्त प्राकृतिक हुने अपेक्षा गरेका छौं ।

होटलभित्र के कस्ता सुविधा हुनेछन् ?
संसारका सबैभन्दा ठूला र राम्रा होटलले उपलब्ध गराउने उच्चस्तरीय सेवा सुविधालाई हामीले अन्तर्राष्ट्रिय स्तरको भन्ने गरेका छौं । सहरभित्रका होटलभन्दा यसमा २ गुणा ठूला कोठा छन् । इन्टरकनेक्सन भएका कोठाहरु छन् । लिफ्टबाट जानेवित्तिकै ठूला ठूला लबीमा पुग्न सकिन्छ । त्यही लबीबाट आनन्दका साथ दृश्याबलोकन गर्न सकिन्छ । लग्जरियस, इकोनोमी र जनरल रुमहरु छन् । ५ सय व्यक्ति अट्ने पार्टी भेन्यु छ । कार्पोज छ । छुट्टै भवनमा क्यासिनो छ । सबैभन्दा माथि रुफटप गार्डेन छ । उक्त गार्डेनबाट सबै दृष्य अवलोकन गर्न सकिन्छ । त्यहाँ जाँदा व्यक्तिले नेपालको वास्तविक गाउँ पनि देख्न सक्छ । यसरी हरेक हिसाबले यो उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा विकास हुँदै छ ।

नेपालमा विश्वस्तरीय चेन होटलको ब्राण्ड ल्याउने, फ्रेन्चाइज ल्याउने प्रचलन छ । त्यस्ता चेन होटलसँग यहाँहरुको प्रतिस्पर्धा कत्तिको चुनौतीपूर्ण देख्नुहुन्छ ?
धेरै राम्रो होटलको चेन ब्राण्ड वा फ्रेन्चाइज ल्याएर मात्रै होटल चल्ने होइन । उत्पादनको गुणस्तर, आतिथ्यता, खाना, आवास र रहनसहनको सुविधालगायतले होटेललाई चल्न सक्ने बनाउने हो । यो त अनिवार्य नै छ । तर, संसारमा कतै नभएको शिव भूमि, स्प्रिङ वाटर, दायाँबायाँ खोला, शान्त, सुन्दर वातावरण, प्राकृतिक वातावरण यहाँ छ । यो प्रकृतिले नै सबै ग्राहकलाई यो होटलमा आकर्षित गर्छ यसमा हामी पूर्ण रुपमा विस्वस्त छौं ।

कोभिड–१९ को दोस्रो लहर बढ्दै गर्दा यहाँहरुको होटल सञ्चालनमा आउने गरी निर्माण हुँदै छ । अवस्था कत्तिको चुनौतीपूर्ण महसुस गर्नुभएको छ ?
जहाँ चुनौती छ, त्यहाँ अवसर छ । विज्ञानले पनि भन्छ– कुनै पनि रेखा सिधा जाँदैन । दिनपछि रात आउँछ, रातपछि दिन । २०७२ मा भूकम्प आउँदा हामीले देशै भताभुङ भएको ठान्यौं । तर, फेरि सम्हालिएर अघि बढेका छौं । हरेक १०१५ वर्षको अन्तरालमा विभिन्न प्रकोप, विपत्ति र महामारी आइरहेकै छन् । सुस्ताएका र निदाएर बसेका मानिस जुर्मुराउने गरी यस्ता प्रकोप आउँछन् ।

हिजो कोरोनाका कारण १० महिना घरमै खुम्चिएर बसेको मानिस अहिले बाहिर जान चाहिररहेको छ । काम गर्न, विदेश जान, घुम्न जान पाए हुन्थ्यो भन्ने भएको छ । कोरोनाको खोप पनि आएको छ । यसले पनि मानिसमा आत्मबल बढेको छ । कतिपय मासिन पैसा भएर पनि घुम्दैनन्, तर घुम्न चाहने मानिसलाई पैसाले रोक्दैन । हामीलाई निर्माणको चरणमा कोभिड आएकोले कोभिडले असर गरेको छैन । अवसर मात्रै दिइरहेको छ । हामी सही समयमा छौं । त्यसैले हामीले आत्मविश्वास दह्रो बनाएका छौं ।

होटल सञ्चालन तथा व्यवस्थापन आफैंले गर्नुहुन्छ कि अरुलाई नै जिम्मेवारी दिनुहुन्छ ?
अब हामी प्रि ओपनिङका लागि तयारीको चरणमा पुगिसकेका छौं । ४ महिनाको प्रि ओपनिङ चरण हुन्छ । हामीले अहिले सबै क्षेत्रका लागि दक्ष जनशक्ति राखेका छौं । २५ देखि ३० वर्षसम्म विभिन्न जिम्मेवारी लिएर होटलमा काम गरेका व्यक्तिलाई हाम्रो टिममा समावेश गरेका छौं । चाटर्ड एकाउन्टेन्टको समूहले लेखा व्यवस्था नियन्त्रण गर्नेछ । भवनलगायत पूर्वाधार निर्माणमा हामीले गुणस्तरण परीक्षणलाई निकै बढी ध्यान दिइरहेका छाैं । विद्यालय, कलेज तथा अस्पतालमा धेरैजसो स्वदेशकै व्यक्तिले सेवा लिने हो । तर, पाँच तारे होटलको सुविधा विदेशबाट आउने बाह्य पर्यटकले बढी लिने गर्छन् । त्यसो हुँदा यसलाई असाध्यै निगरानीका साथ हामी निर्माण गरिरहेका छौं ।

आन्तरिक पर्यटकलाई पनि होटलले लक्षित गरेको यहाँले भनिरहँदा शुल्कका हिसाबले कत्तिको प्रतिस्पर्धी बनाउन सक्नुहुन्छ ?
अघि पनि मैले भनें, क्रयशक्ति बढी हुँदैमा वा पैसा हुँदैमा त्यो मान्छे घुम्छ भन्ने छैन । यो एउटा बानी वा रहरको कुरा पनि हुन्छ । गरिब पनि छन् । गरिबीकै कारण होटलमा नबस्नु फरक कुरा हो । तर, कोभिडकै कारण क्रयशक्ति घटेकोले मानिस होटलमा जाँदैनन् भन्ने हुँदै हुँदैन ।

होटलले कति रोजगारी सिर्जना गर्न सक्छ ?
होटेल सञ्चालन भएपछि मात्रै यति रोजगारी सिर्जना हुन्छ भनेर भन्न सक्छाैं ।

होटलको पूर्वाधार निर्माणमा कच्चा सामग्री र निर्माण जनशक्ति नेपाली नै छन् कि विदेशबाट ल्याउनुभएको छ ?
सकेसम्म इन्जिनिरयरिङ परामर्श, जनशिक्त सबै नेपाली नै प्रयोग गरेका छौं । आवश्यक कच्चा सामग्री पनि नेपाली नै छन् । हेरिटेज भन्नासाथ हाम्रै देशको उत्पादन बढी खपत हुने गरी हामीले यो निर्माण गरिरहेका छौं । नेपालमा उत्पादन नै नभएका मार्बललगायत केही चिज भारतबाट ल्याएका छौं ।

सर्वसाधारणमा सेयर (आइपीओ) जारी गर्ने योजना पनि छ कि ?
होटेललाई कर्पोरेट कल्चरमा अघि बढाउन पब्लिकमा जानुपर्छ भन्ने महसुस गरेका छौं । अघिल्लो साधारण सभाले हामी प्रालिबाट पब्लिक लिमिटेडमा जाने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेका छौं । हामी पब्लिकमा जान्छौं ।

लगानी विस्तारका थप योजना पनि बनाउनुभएकाे छ कि ?
अहिले हामी यही होटलको सफल सञ्चालनमै लागि परेका छौं । यो होटल पूर्ण रुपमा सञ्चालनमा आएपछि उद्यम व्यापारका हिसाबले हामी अन्य परियोजनामा पनि अघि बढ्न सक्छौं ।

प्रतिक्रिया