नयाँ सत्ता समीकरणबारे कांग्रेसको प्रस्तावमा माओवादी सकारात्मक

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)समक्ष प्रस्ताव राखेका छन् ।

देउवा निवास बूढानीलकण्ठमा सभापति देउवाले बोलाएको तीन दलीय बैठकमा सभापति देउवाले उक्त प्रस्ताव राखेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रका नेताहरुले आजको छलफल सकरात्मक भएको र आगामी कदम कसरी चाल्ने भन्नेबारे जसपाको निर्णय पर्खने सहमति भएको बताएका छन् ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै जसपा नेता महन्थ ठाकुरले आफूले सरकार बदल्ने यस औपचारिक प्रस्तावका विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा बैठकमा राखेको बताए ।

‘पहिलो पटक सरकार बनाउने औपचारिक प्रस्ताव आएको छ ,’ ठाकुरले भने, ‘हामीले यस विषयमा कुनै छलफल गरेका छैनौं । हामीले छलफल गर्न बाँकी नै छ । हामी छलफल गरेर चाँडै यसबारेमा निर्णय लिन्छौं भन्ने कुरा राख्यौं ।’

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकमा सभापति देउवाले सरकार बदल्न कांग्रेसले गरेको निर्णयबारे जानकारी गराउँदै प्रस्ताव राखेको र सहयोग मागेको जानकारी दिए ।

कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जेलमा रहेका नेता कार्यकर्ताहरूको रिहाइबारे सरकारसँग राखेका कुरा पुरा गर्न आफूहरु पनि तयार रहेको भन्ने कुरा राखेको जानकारी दिए । उनले भने, ‘ओलीले गर्ने भनेका काम हामी पनि गर्छौं भनेर उहाँहरुले भन्नुभयो ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्णय र निष्कर्षमा पुग्न जनता समावादीले केही दिनलाई समय मागेको बताउँदै आजको बैठक सकरात्मक भएको र जसपाले उपयुक्त निर्णय गरेर चाँडै अर्को बैठक बस्ने जानकारी दिए ।

बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया