कोभिड भ्याक्सिन सर्वसुलभ बनाऔं : इमरान खान

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डी-८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ को खोप थप सर्वसुलभ बनाउन आग्रह गरेका छन् ।

सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उनले यस्तो आग्रह गरेको बताइएको छ । उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिनबाट राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको समेत टिप्पणी गरे ।

प्रधानमन्त्री खानले सो भर्चुअल सम्मेलनमा भनेका छन्‚ ‘विश्वमा अहिले भ्याक्सिनजस्तो अति आवश्यकीय वस्तुको उपलब्धताको बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको छ ।’

उक्त समूहको १० औं सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री खानले कोभिड १९ विरुद्ध हाल विश्वमा प्रयोगमा आइरहेको खोपको उपलब्धतालाई अझ सरल र विश्वमा अति आवश्यकीय वस्तुका रुपमा सबैले पाउनुपर्ने बताए ।

यस कार्यका लागि डी-८ जस्तो समूह र यसका सबै सदस्य देशहरुले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले कोभिडका कारणले विश्वको अर्थतन्त्र गम्भीर अप्ठेरो अवस्थामा पुगेकोले त्यसलाई पुनःप्राप्तिका लागि पनि यस समूहले भूमिका खेल्नुपर्ने बताए ।

त्यसका अतिरिक्त विश्वका कतिपय देशमा यो खोपको उपलब्धता निकै कमजोर भएकाले यस समूहका सदस्यहरुले औषधि जस्तो विषय विश्वका सबै देशका नागरिकले पाउन सकुन भनेर त्यस बारेमा लाग्नुपर्ने धारणा राखे ।

उनले विश्वमा हाल कोभिडका कारणले ह्रास भएको अर्थतन्त्रका कारण धेरै क्षेत्रमा प्रभाव पारिरहेको पनि बताए । त्यसका लागि पनि यो डी-८ समूहले ध्यान दिनुपर्ने बताएका थिए ।

डी-८ समूहमा बंगलादेश, पाकिस्तान, टर्की, इजिप्ट, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सदस्य रहेका छन् । बिहीबार आयोजना गरिएको १०औँ सम्मेलनको आयोजक राष्ट्र बंगलादेश रहेको थियो ।

प्रतिक्रिया