प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको अवार्ड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको अवार्ड पाएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’मा प्रधानमन्त्रीलाई उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको हो ।

ओलीद्वारा रचित राष्ट्रिय गीत ‘स्वदेशमै रोजगारी’ ले उत्कृष्ट गीतकार विधामा अवार्ड पाएको हो । यही गीतको म्युजिक भिडियोका निर्देशक मोहन निरौलाले उत्कृष्ट भिडियो निर्देशकको अवार्ड पाएका छन् । शान्तिराम राईद्वारा सङ्गीतबद्ध उक्त गीतमा शान्तिराम राई तथा मेलिना राईको स्वर रहेको छ ।

गीतको भिडियोमा रवीन्द्र खड्कासहित मोहन निरौला, रमेश पौडेल, पवित्रा आचाई, प्रकृति केसी, आशा भुसाल, चेत बहादुर सिंह, सुनिल कटवाल, रामेश्वर बुर्लाकोटी, जीवन थापा, उद्धव भट्टराई, गोपाल ढकाल छन्दे लगायतले अभिनय गरेका छन् । भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी छ ।

उक्त समारोहमा संगीतकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा अवार्ड सम्पन्न भएको हो ।

प्रतिक्रिया