चेम्बर अफ कमर्शको ७० औं साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरेका छन् । होटल सोल्टीमा बिहीबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले चेम्बरको ७० औँ साधारण सभा समुद्घाटन गरहेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिक मिलेर सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्नुपर्ने बताए । आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनले बताए ।

उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थाहरुका माग तथा चासोलाई नीति निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।

सिक्का अनावरण, स्मारिका विमोचन

प्रधानमन्त्रीले उक्त अवसरमा चेम्बरको ७० औँ वार्षिकोत्सवको अवसरमा तयार गरिएको चाँदीको सिक्का अनावरण गरे । चेम्बर कार्यसमिति सदस्य एवं सिक्का निस्कासन समितिका संयोजक पर्शुराम दाहालले प्रधानमन्त्रीलाई उक्त सिक्का प्रस्तुत गरेका थिए ।

यस्तै चेम्बरको ७० औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित चेम्बर स्मारिका २०७७ विमोचन गरे । स्मारिकामा नेपालको उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित विभिन्न लेखरचना संग्रहित छन् । चेम्बर कार्यसमिति सदस्य एवं सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेले स्मारिका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरे ।

व्यवसायी सम्मानित

चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत् उद्ययमी व्यवसायीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्र तथा कदर पत्र प्रदान गरेको छ । नेपाल चेम्बर अफ कमर्समा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबाजीलाई कदर पत्र प्रदान गरियो । यस्तै कोभिड १९ महामारीमा नेपाल चेम्बर अन्र्तगत गठित कोभिड राहत समितिका संयोजक चेम्बर उपाध्यक्ष दीपक कुमार मलहोत्रा सम्मानित भए ।

नेपाल भारत आर्थिक सम्बन्धमा सहजीकरण तथा सुधृढ गर्न योगदान गरेबापत् नेपाल भारत उद्योग वाणिज्य संघलाई कदर पत्र प्रदान गरिएको छ । संघका तर्फबाट अध्यक्षले सम्मान पत्र ग्रहण गरे । नेपालको वैदेशिक व्यापारमा सहजीकरण गरेबापत् नेपाल फ्रेट फर्वाडर्स एसोसियसन सम्माति भयो । एसोसियसनका अध्यक्ष मनोज अधिकारीले सम्मान ग्रहण गरे ।

प्रसंशनीय कार्य सम्पादन गरेका पोखरा चेम्बर अफ कमर्स कास्की, चितवन चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्सलाई पनि कदर पत्र प्रदान गरिएको छ । यस्तै जग्गा व्यवस्था गरी भवन निर्माण गरेका कपिलबस्तु चेम्बर अफ कमर्स, डोटी चेम्बर अफ कमर्स, हरिवन नगर चेम्बर अफ कमर्स र उद्योग व्यापार संगठन रुपन्देहीले कदर पत्र प्राप्त गरे ।

चेम्बरका ६ जना पूर्व अध्यक्षको सम्मानमा स्थापित मेमोरियल अवार्ड उद्योग वाणिज्य क्षेत्रमा योगदान प्रदान गरेका महानुभावहरुलाई वितरण गरिएको छ । बनवारी लाल मित्तल मेमोरियल अवार्ड पर्यटन तर्फ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेले ग्रहण गरे ।

जनकदास श्रेष्ठ मेमोरियल अवार्ड महिला उद्यमीतर्फ इन्दिरा सापकोटाले प्राप्त गरे । यस्तै राजबहादुर चिपालु मेमोरियल अवार्ड कृषि तर्फ गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले प्राप्त गरे । जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्राप्त गरे । यस्तै इन्द्रभक्त मेमोरियल अवार्ड उद्योगतर्फ विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवालले प्राप्त गरे । यस्तै ईश्वरलाल मेमोरियल अवार्ड पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले प्राप्त गरे ।

प्रतिक्रिया