राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई क्युआर कोड र पीओएस मेसिन हस्तान्तरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्युआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहलाई उक्त समारोहमा बिहिबार क्युआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेका हुन् ।

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्युआर कोड र पीओएस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् ।

सो समारोहमा प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धी पुनित कार्यमा रक्त संचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बाकेर हिड्नु नपर्ने जानकारी गराए ।

वि.सं. २०४० सालबाट शुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारी तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राविधिक प्रहरी नायब महानिरीक्षक डा.  रामकृष्ण राजभण्डारीले स्वागत मन्तब्य व्यक्त गरे ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टर, उच्च प्रहरी अधिकृत, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया