गगन थापा भन्छन्- तथ्यमा टेकेर बहस गरौं‚ प्रधानमन्त्रीज्यू चमत्कार कहाँ भयो ? (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले सरकारले काम भन्दा बढी कामको श्रेय लिन खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गएको ३ वर्षमा कुनै चमत्कार नगरेको समेत बताए ।

उनले विगतदेखि नै वर्षौंदेखि हुँदै आएका विकास तथा पूर्वाधार निर्माणको कामको श्रेय लिनसमेत प्रधानमन्त्री ओलीले भ्याइनभ्याई गरेर उद्घाटन गरिरहेको आरोप लगाए ।

‘सडक, पुल, खानेपानी जस्ता अनेक पूर्वाधारको उद्घाटन र शिलान्यस गर्न प्रधानमन्त्रीज्यूलाई भ्याइनभ्याई छ,’ संसदमा उनले भने, ‘उहाँ भन्नुहुन्छ- चमत्कार भयो । तर यो उहाँको चरम अल्पज्ञान हो वा ढाँट्ने उहाँलाई ढाँट्ने बानी लागेको छ । उहाँकै सरकार बनेपछि २०७५ सालमा आउँछ भनेको मेलम्चीको पानी आउन पनि साढे २ वर्ष बढी लाग्यो । डेढ अर्ब बढी लाग्यो । ठेकेदारसँग कमिसनको मोलमोलाइले काम ढिलो भयो । तर, यो कुरा भन्नुहुन्न धारा खोलेर उद्घाटन गर्नु हुन्छ । निर्माण सुरु भएको ७/८ वर्षमा २०६०/६१ मै आउनुपर्ने मेलम्ची यति ढिलो आउँदा पनि उहाँले विगतको गल्तिबाट पाठ सिक्यौं भन्नु भएन । चमत्कार देख्नु भयो । २०७२ मा ८० प्रतिशत काम सकिएको मेलम्ची बल्ल आयो । अब यस्तै चमत्कार उहाँले माथिल्लो तामाकोसीमा देखाउनुहुने वाला छ ।’

सम्पन्न भएका कामको मात्र श्रेय लिने तर गर्न नसकेका कामबारे उच्चारण नै नगर्ने प्रधानमन्त्रीको प्रवृत्ति देखिएको सांसद थापाले बताए ।

‘बुढीगण्डकी, पश्चिम सेती, कर्णाली आयोजनाका कुरा कोही गर्दैन,’ उनले भने, ‘काठमाडौं–निजगढ फास्ट ट्र्याक, हुलाकी सडकको कुरा कोही गर्दैन, काम नै शुरु हुन डेढ वर्ष लाग्ने सुनकोसी–मरिनको शिलान्यास गर्नुहुन्छ । १६५ वटा सडकको स्वीच थिचेर बालुवाटारबाट एकै पटक उहाँले शिलान्यास गर्नुभयो नइन्जिरियरिङ छ न बजेट छ न अध्ययन पूरा भएको छ । जस लिन किन हतारो ?’

उनले खल्तीबाट आयोजना छान्ने, नेताले आयोजना छान्ने प्रथा बदल्नुपर्ने बताए । ‘वर्षौंदेखि जुन तरिकाले काम भइरहेको छ फेरि पनि त्यही तरिकाले काम गर्ने हो भने केही हुँदैन,’ उनले भने, ‘एक एक तथ्यमा बहस गरौं, तथ्य तथ्यांकमा टेकेर बहस गरौं । संसद बैठकमै बसेर बहस गरौं । यो संसदमा एउटा सांसदले तथ्यगत बहस गर्न तपाईंलाई चुनौति दिएको छ । तथ्यमा देखाउनुस् चमत्कार कहाँ भएको छ ?’

प्रतिक्रिया