विवादास्पद सूचना प्रविधि विधेयक संसदमा पेस हुँदै

काठमाडौँ । आज (बुधबार) प्रतिनिधि सभाकाे बैठक बस्दैछ । आज बस्ने बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेस गर्ने तयारी छ । संसदकाे कार्यसूची अनुसार बैठकमा विकास तथा प्रविधि समितिकी सभापछि कल्याणी कुमारी खड्काले ‘सूचना प्रविधिसम्बन्धी विधेयक सम्बन्धी समितिकाे प्रतिवेदन, २०७७’ गर्ने कार्यक्रम तय भएकाे छ ।

उक्त विवादित विधेयककाे चाैतर्फी विराेध भएकाे थियाे । विपक्षी दलकाे विराेधका बाबजुद पनि गएकाे वर्षकाे पुस १३ गते संसदको विकास तथा प्रविधि समितिले साे विधेयक बहुमतका साथ पारित गरेकाे थियाे । सत्तारूढ नेकपाका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो ।

समितिले पारित गरेकाे करिब १५ महिनापछि साे विधेयक प्रतिवेदन संसदमा पेस हुने भएकाे हाे । उक्त विधेयककाे प्रतिवेदनमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने कडा प्रावधान समावेश छ ।

यस्तै सामाजिक सञ्जाल पनि दर्ता गरेर चलाउनुपर्ने लगायतका कुराहरू पनि आएका छन् । विधेयक प्रतिवेदनको दफा ९१ मा सामाजिक सञ्जाल दर्ता गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम दर्ता गर्नुपर्ने उल्लेख छ । ‘दर्ता नभएको सामाजिक सञ्जालको प्रयोगमा नेपाल सरकारले रोक लगाउन सक्नेछ भनी’ उपदफा ३ मा उल्लेख छ ।

कांग्रेस लगायतका विपक्षी दलहरूले भने यसकाे विराेध गर्दै आएका छन् । सूचना प्रविधि विधेयक सरकारले नागरिकलाई दुःख दिन ल्याएको उनीहरूको आरोप छ । यद्यपी तत्कालीन सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले भने सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउन लागिएकाे दाबी गरेका थिए ।

यस्तै आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोग र थारु आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ । बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगप्रति शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची छ ।

प्रतिक्रिया