बागमती प्रदेश : माओवादी केन्द्रद्वारा प्रदेश सभा बैठक अवरुद्ध

काठमाडौं । बागमती प्रदेशसभाको बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । माओवादी केन्द्रले लामो समयपछि सुरु भएको प्रदेशसभा बैठकमा विभिन्न माग राख्दै संसद अवरुद्ध गरेको हो ।

माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विभिन्न बहानामा सरकारले छलफलमा ल्याउन नदिएको भन्दै संसद अवरुद्ध गरेको हो ।

त्यस्तै पुस १० गतेपछि सरकार परिवर्तन भएपछि सत्तापक्षले एकलौटी ढंगबाट नीति तथा कार्यक्रम र बजेट पठाउने काम गरेको र सरकारले प्रदेशमा छलफलबिना नै विद्युतीय बस संचालनमा ल्याउन लागेको भन्दै तत्काल यस विषयमा जवाफ माग गर्दै संसद अवरुद्ध गरेको हो ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले भने, ‘सभामुख संवैधानिक रुपमा स्वतन्त्र हुनुहुन्छ, तर उहाँलाई पनि सरकारले दबाबमा राख्यो । सो दबाबका कारण सभामुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने वातावरण बनाउन सक्नुभएन ।’

उनले सभामुखले तत्काल संसदमा अविश्वासको प्रस्तावलाई छलफलमा ल्याउन माग गर्दै माओवादी केन्द्रले अविश्वास प्रस्ताव फिर्ता नगर्ने र छलफलको निर्णयलाई स्वीकार्न तयार रहेको बताए ।

माओवादी केन्द्रको अवरोधपछि बैठक अवरुद्ध हुँदा सबै कार्यसूचीहरू स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रतिक्रिया