निर्वाचन आयोगले केपी ओलीलाई दिएपनि नआत्तिनुस् : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार आफूनिकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई वैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन् । उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए । आफ्नो पक्षमा लागेका कुनैपनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्नेसमेत नेता नेपालले आश्वासन दिएका छन् ।

एउटै डुंगामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्‍याई छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने‚ ‘भोलि वैधानिकरुपमा नेकपा एमालेमा केपी ओली नै अध्यक्ष हो भनेर निर्वाचन आयोगले भन्यो भने के गर्नुपर्ला भनेर तपाईंहरुलाई परेको होला, नआँत्तिनुहोस् जहाँ समस्या छ‚ त्यहाँ समाधान हुन्छ । समाधान हामी निकाल्नेछौं । त्यसो हुनाले तपाईंहरुलाई बीचैमा छाड्नेछैनौं । तपाईंहरू र हामी एउटै डुंगामा सवार भएका छौं । त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पुर्‍याई छाड्नेछौं । लक्ष्यसम्म पुगिछाड्नेछौं । त्यसो हुनाले आत्तिनुपर्ने केही छैन ।’

नेता नेपालले आफूहरू लोकतान्त्रिक कम्युनिस्ट शक्तिसँग एकताबद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारेका छन् । त्यस क्रममा विभिन्न राजनीतिक दलका नेतृत्वहरूसँग कुराकानी भइरहेको पनि बताए ।

‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्‍यौं‚ उहाँहरू पनि सकारात्मक हुनुहुन्छ । नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौं‚ उहाँहरू पनि सकारात्मक हुनुहुन्छ‚’ नेता नेपालले भने‚ ‘अरु लोकतान्त्रिक पार्टीले पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनुभएको छ । हामी सबै सकारात्मक शक्तिहरुसँग एकताबद्ध भएर जान चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन । तर यदि हाम्रो पार्टी अगाडि बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा गर्‍यो भने त्यसविरुद्ध हामी जुध्नका लागि तयार छौं । यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं ।’

आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि बताए । आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको बताए । तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए ।

अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले बताए । ‘कहिलेकाहिँ भावनात्मक ब्ल्याकमेल हुन्छ । भावनात्मक ब्ल्याकमेल के हो भन्दा माओवादीसँग नजिक हुने, प्रचण्डको कार्यकर्ता हुन जाने, हिजो केपी ओली र प्रचण्डको चोचोमोचो मिलेको थियो कि थिएन ?’ उनले भने‚  ‘मै हुँ त्यसको विरुद्ध आवाज उठाउने । दुईवटाको चोचोमोचो मानिँदैन भन्ने मान्छे मै हुँ । आज आएर प्रचण्डसँगको दुरी बढाउनका लागि र अरु पार्टीसँगको दुरी बढाउनका लागि आफू भने अत्यन्तै तल्लो दर्जामा गइकन सत्ता जोगाउनका लागि जुनसुकै तहमा पनि सम्झौता गर्न तयार भएको व्यक्तिको बारेमा मैले चर्चा गर्नुपर्दैन ।’

प्रतिक्रिया