बागलुङका दुई रणनीतिक सडकको शुभारम्भ

काठमाडौं । देशभर एक साथ निर्माण शुरु भएको १६५ रणनीतिक सडक सञ्जालमध्ये बागलुङका दुई सडक छनोट भएका छन् ।

एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक सञ्जाल निर्माण गर्ने नेपाल सरकारको योजनाअनुसार बागलुङमा दुईवटा सडक निर्माणको शुभारम्भ भएको छ । ती सडक शुभारम्भ भई बजेट विनियोजन भइसकेपछि यहाँका स्थानीय उत्साहित भएका छन् ।

बागलुङको निर्वाचन क्षेत्र नं १ अन्तर्गत अदालत चौपारी–सिगाना चापखर्क–गाजाको दह–बरेङ –शान्तिपुर सडक र निर्वाचन क्षेत्र नं २ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी–रणसिङकिटेनी– भिमगिठे– दर्लिङ हुँदै निसिखोला सडक छनोट भएको छ ।

सो आयोजनाका लागि ४०/४० करोड बजेट विनियोजन भएको बागलुङ क्षेत्र नम्बर एकका सांसद डा सूर्य पाठकले जानकारी दिए ।

सडक छनोट भएर बजेट विनियोजन भएपछि लामो समय टुक्रे बजेटका कारण सुधार हुन समस्यामा परेको अदालत चौपारी–सिगाना चापखर्क–गाजाको दह–बरेङ–शान्तिपुर सडक केही वर्षमा कालोपत्रे हुँने भएपछि यहाँका जनता खुशी भएको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताए ।

‘निर्वाचित भएपछि पहिलोपटक यही सडक निर्माण गर्नमा लाग्यौँ, जस्का लागि डिपिआर बनाएर पेश गरेका थियौँ’, वडाध्यक्ष जिसीले भने, ‘हाम्रो वर्षौंपछिको मेहनत साकार हुँदै गएको छ, बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र जैमिनी नगरपालिका समेटिएको सबैभन्दा छोटो सडक भएकाले जनतालाई निकै सहज हुनेछ ।’ जिसीका अनुसार उक्त सडक झण्डै ३३ किलोमिटर लामो हुनेछ ।

यसैगरी बागलुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी–रणसिङकिटेनी–भिमगिठे–दर्लिङ हुँदै निसिखोला सडक योजना छनोट गरिएको छ ।

बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुने बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

यो सडक झण्डै ४० किलोमिटर लामो रहेको छ । ‘बागलुङको बीच भागमा रहेको गलकोट नगरपालिकालाई बडिगाड हुँदै दुर्गम निसीखोला जोड्ने सडक हो यो’, पौडेलले भने, ‘मध्यपहाडी लोकमार्गबाट शुरु भएको उक्त सडक दुर्गमलाई जोड्दै पुनः निसीखोलामा गएर लोकमार्गमै मिसिने भएका कारण विकासमा निकै फड्को मार्न सहज हुनेछ ।’

हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकलाई छनोट गरी सरकारले एकैसाथ उक्त सडकको निर्माण शुभारम्भ गरेको छ ।

निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डमा सङ्घीय राजधानी, प्रादेशिक राजधानी, अन्तर्राष्ट्रिय विमानस्थल/सिमाना, दुई निर्वाचन क्षेत्रका प्रमुखस्थल तथा दुई जिल्ला र पालिका जोड्ने विषयका आधारमा सममावेश भएको हो ।

प्रतिक्रिया