मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवम् पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभापति देउवाले पार्टी सङ्गठन, नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा प्रधानाङ्गले निर्वाह गरेकाे योगदान सदा स्मरणीय रहने उनले बताए ।

स्व. प्रधानाङ्ग वि.सं २००७ देखि २०१० सालसम्म कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको सभापति, २०१६ सालमा राष्ट्रिय योजना आयोगको सदस्य, २०४८ सालमा राष्ट्रियसभाको सदस्य र विसं २०४८ देखि २०५० सालसम्म वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए । वि.सं २०१७ मा प्रजातन्त्र अपदस्थ गरिएपछि कांग्रेसद्वारा सञ्चालन गरिएको सङ्घर्षका क्रममा उनले पक्राउ परी करिब एक वर्ष जेल जीवनसमेत व्यतित गरेका पार्टी कार्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापनसमेत गर्नुभएका स्व. प्रधानाङ्गले राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएका थिए । प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।

यसैगरी सभापति देउवाले सोमबार नै कांग्रेस ताप्लेजुङका पूर्व सहसभापति एवं तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) ताप्लेजुङका पूर्वसभापति डीबी राईको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । उनको यही चैत २२ गते उपचारका क्रममा झापा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक सरल र निष्ठावान अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । वि.सं २०३६ मा कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङको सचिव रहनुभएका स्व राईले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

वि.सं. २००४ मा जन्मिएका स्व. राईका चार छोरा र दुई छोरी छन् । -रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com