हवाई इन्धन अब सस्तो बनाउनु पर्छः मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले नेपालमा हवाई इन्धन महँगो भएको भन्दै इन्धनको मूल्य अन्तर्राष्ट्रिय रुपमा समान हुनुपर्ने बताएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।

नेपालमा हवाई इन्धन महंगो भएको चर्चा लामो समयदेखि भइरहेको भन्दै मन्त्री ढकालले अब अन्तर्राष्ट्रिय हवाई उडानका लागि नेपालले पनि इन्धनको मूल्य अन्य देशले जस्तै सस्तो बनाउनु पर्ने बताए ।

हाल नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि हवाइ इन्धनको मूल्य ८९३ रुपैयाँ प्रतिकिलोलिटर छ । यो मूल्य भारत र बंगलादेशलगायत देशको तुलनामा बढी हो ।

विमानस्थलको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा आइ नसकेको भन्दै उनले उक्त जग्गा विमानस्थलको नाममा ल्याउन प्रक्रिया थाल्न समेत विमानस्थल प्रशासनलाई निर्देशन दिए ।

विमानस्थलमा यत्रतत्र छरिएका सामानलाई चुस्त दुरुस्त मिलाएर राख्न र सरसभाइमा विशेष ध्यान दिन समेत उनले निर्देशन दिएका छन् ।

विमानस्थलमा विशिष्ट व्यक्ति मध्ये कसको गाडी कहाँसम्म लैजाने भन्ने निश्चित मापदण्ड बनाउनु पर्ने समेत बताए ।

विमानस्थलको ट्याक्सीभाडा कम गर्न पार्कीङलाई निशुल्क बनाउनु पर्ने र मिटरमा ट्याक्सी हिँडाउनु पर्ने समेत उनले बताए ।

प्रतिक्रिया