मृत सपना बोकेर आशावादको राजनीति

काठमाडौ । सत्तापक्षीय एमाले नेता गोकुलप्रसाद बाँस्कोटाले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन् । सोमवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले माओवादीले समर्थन फिर्ता नलिइ सरकारको आलोचना गरिरहेको आरोप लगाए । ‘सके समर्थन फिर्ता लिनुस्,’ बाँस्कोटाले भने, ‘आफैँ समर्थन गर्ने अनि आलोचना पनि आफैँ गर्ने ? आफैँ भन्ने सरकार कामचलाउ भयो भनेर । कसरी कामचलाउ भयो यो सरकार ? आफू नयाँ सरकार गठन गर्न नसक्ने, एजेण्डा प्रस्तुत गर्न आफैँ नसक्ने अनि आलोचना चाहिँ सरकारको गर्ने ?’

माओवादीले मृत आत्मा बोकेर आशावादको राजनीति गरिरहेको बताएका बाँस्कोटाले भने, ‘खासमा नेपालका राजनीतिक दलहरुले चाहेको चाहिँ के हो ? विकास त भएकै छ, जनतामाझ गएकै छ सरकार, जनतालाई दुःख पर्दा सघाएकै छ । यदि योबाहेक अरु राजनीतिक दलसँग अरु नै कुनै एजेण्डा ?’

‘अर्ली इलेक्सन’को विकल्प नरहेको बताउँदै बाँस्कोटाले राजनीतिका लागि राजनीतिक मैदान खुला रहेको बताए । ‘तपाईँहरु नै भन्नुस् त, जनतामाझ जानको लागि प्रतिगमन हो भने अग्रगमन चाहिँ के हो ?’

प्रतिक्रिया