रोकियो प्रसिद्ध बिस्का जात्रा

काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा तथा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाललगायतको उपस्थितिमा बसेको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र भक्तपुरको ४५ औँ बैठकले सो निर्णय गरेको हो ।

हाल मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरुमा कोभिड-१९ को संक्रमण बढिरहेको र हाम्रो देशमा पनि जोखिम बढ्ने सम्भावना रहेको निर्णयमा उल्लेख छ । ‘भक्तपुर जिल्लामा मनाइने विस्केट जात्रामा रथ तान्‍ने तथा लिङ्गो ठड्याउने काममा हजारौँ भक्तजनहरू सहभागी हुने गरेको तथा सो भिडभाडले कोभिड-१९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकोले यस वर्षको विस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्‍ने र लिङ्गो ठड्याउने काम गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने,’ निर्णयमा भनिएको छ ।

त्यस्तै यस जिल्लामा मनाइने जिब्रो छेड्ने तथा सिन्दुर जात्रामा अत्यधिक भिडभाड भई कोभिडको जोखिम बढ्ने सम्भावना रहेकोले यस्ता किसिमका कार्यहरु नगर्न, नगराउन सम्पूर्णमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया