लुम्बिनीका सांसदलाई माओवादीको कारबाही, पद गुम्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश सभामा निर्वाचित दुई सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले मकालु खबरलाई दिएको जानकारीअनुसार माओवादीले पार्टी छाडेर एमालेमा लागेका द्वयसांसद दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी)लाई कारबाही गरेको हो । ‘कारबाही गरेको हो,’ ढकालले भने, ‘प्रदेशमा पत्र गइसकेको छ ।’

प्रदेश सभाको निमावली १९० अनुसार पत्र पठाइएको र अब निमावली १९१ अनुसार सभामुखले प्रदेश सभामा जानकारी गराउने ढकालले बताए । ‘पत्र पुगिसकेको छ,’ ढकालले भने, ‘सभामुखले तोक लगाउनुभएकाको पनि हो । अब प्रक्रियाअनुसार अघि बढ्छ । त्यसपछि सांसद पद खारेज हुन्छ ।’

माओवादीका संसदीय दलका नेता वसन्त घर्तीले माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । तर, हप्ता दिन बितिसक्दा पनि स्पष्टीकरण नबुझाएपछि कारबाही गरिएको हो ।
हाल लुम्बिनी प्रदेशमा कूल ८७ सांसद छन् । जसमा माओवादीको २० सांसद हुन् ।

प्रतिक्रिया