नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच सम्झौता

काठमाडौं । नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघबीच सम्झौता भएको छ । स्थानीय तयारी पोशाक उत्पादन व्यवसायीहरूलाई आवश्यकताअनुसार बैंकको कर्जानीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्न सम्झौता भएको हो ।

निरजकुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र किशोर नेपाल, अध्यक्ष, एन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दैै निरजकुमार बस्नेत (डनिल)ले भने, ‘राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा वृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तीय पहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास राख्दछ । यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जालगायत विभिन्न प्रकारका बैंकिङ सुविधा उपलब्ध गराउनेछ । नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एन.एस.टी.पि.उ.एससँगको यस सहकार्य मार्फत् देशभरका स्थानीय व्यवसायीहरुको ‘मेक इन नेपाल’ उत्पादनहरुलाई प्रोत्साहन गरी सहयोग पुर्‍याउन उत्साहित छ ।’

त्यस्तै नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघका अध्यक्ष किशोर नेपालले भने‚ ‘नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठूलो सम्भावना र आशाको किरण तथा समृद्धिको बाटो हुनेमा हामी विश्वस्त छौँ ।’

नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यलय, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया