‘ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव लैजान्छौँ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । राजीनामा नदिएको खण्डमा संसद्मा अविश्वास प्रस्ताव लैजाने नेता पौडेलले बताए । ‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमनविरुद्धमा संघर्ष गरेका र पुनःस्थापनाका लागि आवाज उठाएका तीन वटा दलको बीचमा पहिले हामी वार्ता गर्छौं,’ नेता पौडेलले भने, ‘समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौँ ।’

प्रधानमन्त्रीबाट ओली नहटे लोकतन्त्रसमेत खतरामा पर्नसक्ने बताएका नेता पौडेलले प्रधानमन्त्रीले आफैँले स्वइच्छाले राजीनामा दिनुपर्ने दोहोर्याए । ‘प्रधानमन्त्रीले आफैँले राजीनामा दिनुपर्थ्यो,’ कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘अब राजीनामा दिनुपर्छ ।’

यस्तै नेता पौडेलले अब बन्ने नयाँ सरकारको नेतृत्वमा कांग्रेस हुनुपर्ने बताए । सो विषयमा अन्य दलहरुसँग छलफल गर्न पनि कांग्रेस तयार रहेको नेता पौडेलको भनाइ थियो ।

प्रतिक्रिया