मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल

काठमाडौं । १४औं महाधिवेशनको कार्यतालिका हेरफेर र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । कांग्रेस नेतृ पुष्पा भुसालले मकालु खबरलाई दिएको जानकारीअनुसार बैठकमा खासगरी १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । ‘बैठकमा खास रुपमा महाधिवेशन कार्यतालिकाबारे नै छलफल हुने हो,’ नेतृ भुसालले भनिन्, ‘क्रियाशील सदस्यता विवरण कतिपय जिल्लाहरुबाट आइसकेको छैन । यसबारे छलफल हुन्छ ।’

यसअघि कांग्रेसले चैत १० गतेसम्म क्रियाशील सदस्यता विवरण कांग्रेस केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने भनेको थियो । तर, हालसम्म कतिपय जिल्लाहरुबाट विवरण आइनसकेको नेतृ भुसालले बताइन् । उनले भनिन्, ‘नपठाउने जिल्लाहरुको हकमा के गर्ने ? भन्ने विषयमा खास रुपमा छलफल हुन्छ ।’

शुक्रबार दिउँसो २ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेतृ भुसालले बताइन् । ‘आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सत्ता समीकरण र माओवादी, जसपालगायतका दलसँग भएको वार्ताबारे पनि छलफल हुन्छ ।’

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com