प्रधानन्यायाधीशको बेन्चमा प्रचण्डको पुनरावलोकनको सुनुवाइ हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पूर्ववत् अवस्थामा फर्काइदिने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले दिएको पुनरावलोकनमाथि बिहीबार (आज) सुनुवाइ हुने भएको छ । नेकपा बदर गर्ने सर्वोच्चको फैसलाविरुद्ध केन्द्रले दिएको पुनरावलोकन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाइ गर्ने भएको हो ।

प्रधानन्यायाधीशसहितको सो बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए ।

एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रको टिप्पणी छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।

प्रतिक्रिया