७ नेपाली चेली अचानक कसरी पुगे भारत ?

काठमाडौँ । महोत्तरीको भँगहा नगरपालिकाको वडा नम्बर ८ धरमपुरमा घाँस काट्न गएका ७ किशोरी/बालिका मंगलबार दिउँसोदेखि अचानक सम्पर्कविहीन थिए ।

घरनजिकै रहेको चौरमा घाँस काट्न गएका बालिकाहरू अबेरसम्म घर नफर्किएपछि खोजी सुरु भयो । उनीहरू हराएको खबर प्रहरीले पाएपछि भारतीय प्रहरीको समन्वयमा खोजी थालिएको थियो । अन्ततः झण्डै २४ घण्टापछि बुधबार बिहान सबै किशोरी-बालिका भारत, बिहार राज्यको सीतामढी जिल्ला रेलवे स्टेशननजिक अलपत्र अवस्थामा फेला परे ।

त्यहाँ भारतीय प्रहरीको रोहवरमा रहेका उनीहरुलाई प्रक्रिया पूरा गरी बुधबार राति साढे ९ बजे नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । उनीहरुलाई अहिले प्रहरीकै संरक्षणमा राखिएको छ । थप सोधपुछ र अनुसन्धानपछि मात्रै परिवारको जिम्मा लगाइने महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

धर्मपुरको एउटै टोलका १२ वर्षीया सीमा पासवान, १२ वर्षकै रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षकै रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका थिए ।

गिरोहको फन्दामा परेको आशंका
घाँस काट्न जाँदा सम्पर्कविहीन भएका उनीहरु भारतमा भेटिएपछि गिरोहको फन्दामा परेको आशंका गरिएको छ । उनीहरूको बीचमा मानव बेचबिखनमा संलग्न व्यक्ति छिरेको हुनसक्ने एसपी आचार्यको अनुमान छ ।

ती किशोरी र बालिकालाई हतार-हतार बोर्डर क्रस गराएको प्रहरीका प्रारम्भिक अनुमान छ । ‘किशोरी/बालिकासँगै अन्य कोही फेला परेका छैनन्,’ एसपी आचार्यले भने, ‘उनीहरूको ट्राभल हिस्ट्री पत्ता लगाएपछि कोसँग गएका हुन्, थाहा हुन्छ ।’

भारतीय प्रहरीसँग उनीहरुले ‘गायिका’ बन्न भारततिर हिँडेको उनीहरूले बयान दिएका थिए । तर एसपी आचार्य भने त्यो कुरा मान्न तयार छैनन् । उनी अगाडि भन्छन्, ‘उनीहरूलाई भारततिर लैजाने गिरोह नै रहेको आशंका छ । गहन अनुसन्धानपछि मात्रै सबै कुरा पत्ता लाग्छ ।

उनले ती किशोरी र बालिकालाई भारत पुर्याउन कुनै न कुनै समूहको हात तर्क गरे । भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धानलाई अगाडि बढाउने तयारी भइरहेको एसपी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया